उदयपुर, जेठ ३ । उदयपुरका एक पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुने सञ्चारकर्मीको संख्या ४ पुगेको छ । यसअघि पर्साको २ र धनुषाका एक सञ्चारकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

शुक्रबार संक्रमण पुष्टि भएका उदयपुर त्रियुगाका पुरुष सञ्चारकर्मी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । उनको सम्पर्कमा आएकाको पहिचान भइरहेको जानकारी दिइएको छ । उदयपुरमा कोरोना संक्रमणको संख्या ३३ पुगेको छ । सुरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरीमस्जिद क्षेत्रमा देखिएको संक्रमण सदरमुकाम गाईघाट फैलिन थालेको देखिएको छ ।

त्यस्तै नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । नेपाली सेनामा कार्यरत दुईजनामा कोरोना संक्रमण देखिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे । महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको उनले बताए । यसअघि स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरीका ५२ वर्षको पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा कोरोना पुष्टि भएको जानकारी गराएका थिए । नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्