बिर्तामोड, जेठ ४ । बिर्तामोड नगरपालिकाको पाँच ठाउँमा संचालन गरिएको निशुल्क खाना खुवाउने कार्यक्रमलाई लकडाउनसम्म निरन्तरता दिइने भएको छ ।

खाना खानेको लाम

बिर्तामोड ३ नं वडा कार्यालयको समन्वयमा संचालन भइरहेको सामुहिक भोजनको कार्यक्रमलाई जेठ ५ गतेको लकडाउनसम्म लम्ब्याउन वडा कार्यालयले आग्रह गरेको हो ।‘ हामीले सामुहिक भोजन कार्यक्रम संचालन गर्ने टोल विकास संस्था र सहयोगी दाताहरुलाई आह्वान गरिरहेका छौँ’ वडाध्यक्ष भोजराज सिटौलाले भने,‘ त्यति बेलासम्म बिर्तामोड नगरपालिकाको दोस्रो चरणको राहत वडाभरि बाँडिसक्छौँ ।’ त्यसपछि केही दिनका लागि निशुल्क खाना खुवाउने कार्यक्रम स्थगित गरिने उनले बताए । भोकमरीमा पर्न लागेकाहरुलाई लक्षित गरी बिर्तामोड —३ को पाँच स्थानमा सामुहिक खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो ।
बिर्तामोड— ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो । मेची आँखा अस्पताल अगाडि जेठ २१ गतेदेखि खाना खुवाउन शुरु गरिएको थियोे भने त्यसपछि चौसठ्ठी काली मन्दिर टोलमा जेठ २६ गतेदेखि त्यस्तो ब्यबस्था मिलाइएको हो । त्यस्तै बैशाख २९ गतेबाट नयाँ समावेशी टोल र बिर्ताबजारमा सामूहिक रुपमा खाना खुवाउन थालिएको छ । बैशाख ३० बाट भने करेलाबारी टोलमा पनि निःशुल्क भोजनको ब्यबस्था मिलाइएको टोल विकास संस्थाका अध्यक्ष कुमार कन्दङबाले बताए ।

खाना खुवाउन खाद्यान्न सहयोग गर्दै सहयोगीहरु

यसैबीच, निशुल्क भोजनका लागि सहयोग गर्ने दाताहरु थपिदै गएका छन् । बिर्ताबजारमा संचालित सामुहिक भोजन कार्यक्रमको आज सातौँ दिन देव परिवारले खाना खुवाएका छन् । स्वर्गीय पिता गणेशीलाल देव र माता पवित्रीदेवी देवको संझनामा छोराहरु चिरञ्जिवी देव र सुदर्शन देवले ७५० जनालाई खाना खुवाएका हुन् । त्यस्तै बिर्तामोड ३ का वडा सदस्य सृष्टि दाहाल र उनका श्रीमान कुमार दाहालले स्वर्गीय आमा नन्दमाया दाहालको स्मृतिमा ६ बोरा चामल सहयोग गरेका छन् । पाँच ठाउँमा ६ बोरा चामल सहयोग गरिएको कुमार दाहालले बताए ।त्यस्तै एकका लागि एक अभियानबाट पनि पाँचै ठाउँमा खाद्यान्न सहयोग मिलेको जनाइएको छ । अहिले प्रत्येक दिन २ हजार ७ सयजनाले खाना खाइरहेको वडाध्यक्ष सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्