बिर्तामोड, जेठ ६ । हाल अष्ट्रेलियामा रहेका बिर्तामोडका ६ जना मनकारीहरुले बिर्तामोड ३ का विपन्नहरुलाई खाना खुवाउन सहयोग गरेका छन् ।

बिर्ताबजार र करेलाबारीमा संचालन भइरहेको निशुल्क भोजन कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेका बिर्तामोडका दीपक खनाल, रुपराज मैनाली, अशोक उप्रेती, प्रमोद प्रसाई, राजन शिवाकोटी र राजकुमार खड्काले सहयोग गरेका हुन् । उनीहरुको सहयोगबाट आज दुई ठाउँमा १४ सयजनालाई निशुल्क खाना खुवाइएको आयोजक समितिका पदम प्रसाईले बताए । उनले गत बैशाख २९ गतेदेखि संचालन गरिएको सामुहिक भोजनको कार्यक्रम आजदेखि स्थगित गरिएको जानकारी दिए । प्रत्येक दिन ८०० जनाका दरले लगातार ९ दिनसम्म निशुल्क भोजन खुवाइएको आयोजक समितिका बासु माझीले बताए ।

बिर्तामोड नगरपालिकाले दोस्रो चरणको राहत बाँड्न थालेपछि सामुहिक खाना खुवाउने कार्यक्रमलाई स्थगित गर्न लगाएको बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए । भोकमरीमा पर्न लागेकालाई लक्षित गरी वडा कार्यालयको आह्वान र समन्वयमा बिर्तामोड ३ को पाँच ठाउँमा निशुल्क भोजनको ब्यबस्था मिलाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्