झापा, वैशाख ६ । झापाको कचनकवल गाउँपालिका ५ र ६ नम्बर वडामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितस्थलमा टोली

भारतबाट आएका उनीहरूलाई कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मंगलबार बिहान परीक्षण गर्दा उनीहरू सबैमा कोरोना पुष्टि भएको कोशी अञ्चल अस्पताल विराटनगरकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले जानकारी दिइन् ।
यही समूहमा रहेका एक जनामा सोमबार संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । भारतको मुम्बईबाट दिल्ली हुँदै पाँच दिनअघि उनीहरू केचनापारि सीमामा आइपुगेका थिए । मंगलबार कोरोना पुष्टि भएका सबै ३० वर्ष मुनिका पुरुष रहेको प्रदेश सांसद वसन्त बाँनियाले बताए ।
कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष लक्ष्मीनारायण यादवका अनुसार उनीहरू रोजगारीका लागि मुम्बई गएका थिए । फर्किनेक्रममा केचना सीमामा अलपत्र परेपछि ३३ जनालाई उद्धार गरेर नेपाल ल्याइएको थियो ।

३३ जनालाई नै वडा नम्बर ३ को पथरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये मंगलबार ९ र सोमबार १ जनामा कोरोना देखिएको यादवले बताए । नेपाल छिरेका सबै ३३ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । १० जनाको पिसिआर परीक्षण हुँदा १० जनामा नै कोरोना संक्रमण देखिएको यादवले बताए ।कचनकवल गाउँपालिका—२ सुकुनाडिघीको लक्ष्मीनारायण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अन्य ३८ जना व्यक्तिहरूलाई राखिएको छ । ‘भारतबाट ल्याइएकामा कोरोना देखिएपछि अहिले त्यस ठाउँमा सावधानी र सतर्कता अघि बढाउनु पर्ने विषयमा बैठक बस्न लागेको छ,’ यादवले भने।
गाउँपालिका अध्यक्ष अन्जार आलम, उपाध्यक्ष निमसरी राजवंशी, सांसद वसन्त बानियाँलगायतको टोली संक्रमित क्षेत्रमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्