द्रोण अधिकारी । भद्रपुर, जेठ ७ । पूर्वी दक्षिणी कचनकवल गाउँपालिका ५ स्थित साविकको पाठामारी फुलवारी बस्ती छेउमा निर्माणाधिन बाँध तथा झोडा पुलका कारण दर्जनौं घर डुवानमा परेका छन् ।

३ वर्ष अगाडि साविकको जिल्ला विकास समितिमार्फत् निर्माण सम्पन्न झिङ खोलाको पुल वारिपारि सडकसित जोड्न गत वर्षबाट थालिएको बाँध निर्माणले फुलवारी बस्ती डुबानमा परेको हो । प्राविधिकले पानीको निकास दिने गरी खोलाको बहाव क्षेत्र समेट्न नसक्ने नक्साङ्कन गरिदिएका कारण बस्तीमा डुबान समस्या आएको हो ।

पीडित स्थानीय रविना खातुनका अनुसार बाँध निर्माण थालिएपछि गत वर्षदेखि वर्षादमा हजारौं विगाहा जमिन डुवानमा पर्न थालेको हो । यस वर्ष पनि पानीको निकास बन्द भएकै कारण बस्ती डुबानमा पर्न थालिसकेको छ । धानको बीउ राख्ने समयमै खेतका गरा पानीले भरिएपछि समस्या हुने गरेको भन्दै रोपिएको धान पनि पानीको निकास सहज नहुँदा कुहेर नोक्सान हुने गरेको खातुनको आरोप छ ।

स्थानीय जैमुद्धिन मियाँ भने आफ्नो जग्गा काटेर बाँध बनाउन गाउँपालिका अध्यक्षले ठाडो निर्देशन दिएको कारण आफू अन्यायमा परेको गुनासो गर्छन् । उनका अनुसार मेची नदीको पश्चिमी भंगालोबाट बग्ने पानी पनि झिङ खोलामा पस्ने कारण वर्षादमा खोलो भरिएर आसपास जमिनमा पस्ने गरेको छ । तर, खोलाको बहाव क्षेत्र खुम्चने गरी गाउँपालिकाले प्रदेश सरकारलाई इष्टिमेट पठाएको भन्दै नवनिर्मित पुल वरपर प्रदेश सरकारबाट प्राप्त २४ लाख रुपैयाँले बाँधिन थालिएको बाँधले बस्ती र खेतीयोग्य जमिन डुब्ने अवस्था आएको मियाँले आरोप लगाए ।

यता बाँध निर्माणस्थलमा भेटिएका निर्माण ठेकेदार कम्पनी गजबक्रम सापकोटा कन्स्ट्रक्सनका सञ्चालक दिलिप सापकोटा भने बाँध निर्माणमा पटकपटक जैमुद्धिन मियाले अवरोध गरेका कारण सम्पन्न गर्न नसकिएको बताउँछन् । उनले यस विवाद मिलाउन गाउँपालिकाले भूमिका नखेलेकै कारण समस्या आएको प्रष्ट पारे ।
सापकोटाका अनुसार प्रदेश सरकारमार्फत् आएको २४ लाख ९८ हजार रूपैयाँमा पुलको पूर्व पश्चिम सडकसित जोड्ने लिङ्क निर्माण तथा उत्तर दक्षिण बाँध निर्माणको काम हुने छ ।
निर्माण कम्पनीले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको स्थानीयको आरोप समेत छ । निर्माणस्थल पुग्दा पुरानो बाँधबाटै ढुंगा, जाली निकालेर निर्माण कम्पनीले प्रयोग गर्दै गरेको पाइएको थियो ।
यस विषयमा जिज्ञासा राख्दा ठेकेदार कम्नीका सञ्चालक सापकोटा पुरानो पूलको पिलर तथा बाँध हटाउनु पर्ने भएकोले भत्काइएको बताउँछन् ।
कचनकवल ५ का वडाध्यक्ष महेशलाल गणेशका अनुसार बाँध निर्माण विवाद वडाको पहलमा गाउँपालिकाले समाधान गरेको थियो । बस्ती डुबान रोक्न कुनै कसर बाँकी नराख्ने सहमति भएको थियो । तर, पछिल्लो पटकको विवादवारे आफू जानकार नरहेको भन्दै वडाध्यक्ष गणेश सिल खुलेपछि निर्माणस्थलमा गएर निर्माणाधिन काम वारेमा बुझ्ने बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्