झापा, जेठ ९ । झापामा भारतीय नागरिकको आक्रमणबाट आज एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार शंकर चौधरी रहेका छन् ।

उनलाई कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्व रहेको १२२ नम्बरको सीमा पिलर नजिकै भारतीय नागरिकले आक्रमण गरी घाइते बनाएका हुन् । चौधरी त्यहाँको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरी हुन् । भारतीय नागरिकको आक्रमणबाट सशस्त्रका हवल्दार चौधरीको हात र टाउकोमा चोट लागेको छ । जवर्जस्त नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा आक्रमण गरेका हुन् । पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । भारतीय बस्ती गिलाबारीका ५ — ७ जना भारतीय नागरिक आज नेपाली भूमिमा घाँस काट्न आएका थिए । सशस्त्र प्रहरीले उनीहरूलाई सम्झाउन खोजेका थिए ।उदण्ड भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलौच गर्दै एक्कासी बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए । लगत्तै थप ५० — ६० जनाको भारतीय नागरिकको समूह आएर आक्रमणको गरेको कचनकवल—३ का वडाध्यक्ष विजय राजवंशीले जानकारी दिए ।

सुरक्षाकर्मीमाथि भएको आक्रमणको नेपाली नागरिकले प्रतिकार गरेका थिए । आफूहरु त्यहाँ पुग्नासाथ भारतीय नागरिक भागेको वडाध्यक्ष राजवंशीले बताए ।
घटनालगत्तै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।त्यहाँ भारतीय सीमा सुरक्षा फोर्सको टोली पनि आइपुगेकाले अप्रिय घटना भने हुन नपाएको राजवंशीले बताए । दशगजामा तत्कालै दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधि सहितको बैठकमा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । यसअघि जेठ ३ गते बेलुका पनि सोही गाउँपालिका–१ घेराबारीस्थित सुरिभिट्टा—झण्टुबस्ती नजिकै रहेको सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए । आक्रमणबाट बच्न सशस्त्र प्रहरीले त्यसबेला एक राउन्ड हवाई फायर गरेको थियो । वैशाख २३ मा पनि झापाको मध्य दक्षिणी सीमावर्ती झापा गाउँपालिका —४ को जङे पिलर १३१ नम्वर आसपासमा भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यहाँ सशस्त्र प्रहरीले प्रतिकारमा २ राउण्ड हवाइ फायर गर्नु परेको थियो । त्यसअघि कचनकवलकै चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्