भद्रपुर, जेठ १२ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार केन्द्र बनाउन नहुने धारणा राखेका छन् ।

नेपाली काँग्रेस क्षेत्रीय समितिले गरेको अडियो भिडियो कन्फेरेन्सलाई सम्बोधन गर्दै नेता सिटौलाले विकल्पका रूपमा कलवलगुरी प्रशिक्षण केन्द्र वा चन्द्रगढीस्थित खाद्य संस्थानको खाली गोदाम हुँदाहुँदै विपन्न नागरिकको उपचारको केन्दविन्दु रहेको सो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउनु नहुने धारणा राखेका हुन् ।
पूर्व उपप्रधान तथा गृह मन्त्रीसमेत रहेका सिटौलाले प्रदेश सरकारले झापामा कोरोना उपचार अस्पताल निर्माण गर्ने निर्णय स्वागतयोग्य भएपनि अञ्चल अस्पताललाई रूपान्तरण गर्न गरिएको निर्णय गलत भएको प्रष्ट पारे । उनले अहिले तत्कालभन्दा दीर्घकालसम्म सोचेर निर्णय लिनु पर्ने सरकारका प्रतिनिधिहरू हठात्मा निर्णयमा पुग्नु भद्रपुरबासीका लागि दुर्भाग्य भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।

सिटौलाले स्थानीय सरकार सचेत भएर अञ्चल अस्पतालको अस्तित्व बचाउन पनि कोरोना उपचार केन्द्र अन्यत्रै लैजान निर्णय सच्याउनु पर्ने बताए । उनले साँगुरो ठाउँमा रहेको अञ्चल अस्पताल परिसरमा अन्य विरामी र कोरोना रोगीको एकैसाथ उपचार हुन नसक्ने जान्दाजान्दै नयाँ भवनको नाममा ५० मिटरकै हाराहारीमा कोरोना उपचार केन्द्र बनाउने निर्णयले अञ्चल अस्पतालको उपचार सेवा व्यापारिकरणका लागि अन्यत्र सार्न खोजिएको हो कि भन्ने प्रश्न उब्जिएको विचार राखे ।
नेता सिटौलाले क्वारेन्टाइन, आइसोलेसन तथा कोरोना संक्रमितलाई समेत व्यवस्थित गर्न नसक्ने सरकार बहुसंख्यक विपन्नको पक्षमा काम गर्न नसकेको प्रमाण अञ्चल अस्पतालमा कोरोना उपचार केन्द्र निर्माण प्रकरण जोडिएको प्रष्ट्याए । उनले अति आवश्यकीय उपचारका विभिन्न केन्द्रहरू रहेको मेची अस्पताल परिसरसित जोडिएको बस्ती समेत जोगाउन कोरोना अस्पताल सो स्थानभन्दा बाहिर निर्माण गरिनु पर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्