झापा, जेठ १२ । आज थप ७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन् । उनका अनुसार सेती अञ्चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए । त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार गुलरिया—१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया—२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ । जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भई बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । आजै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ र मृतकको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्