दमक,जेठ १२ । दुई दिनअघि नेपाली कांग्रेस दमक नगर समितिले सार्वजनिक गरेको भित्तेपात्रो विमोचन कार्यक्रमप्रति कांग्रेस कमलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको प्रतिनिधित्व शून्य बनेको स्मरण गराउँदै उसले पार्टीको नितान्त आफनो भित्तेपात्रोमा त्यहीँ नगरपालिकाको लोगो अंकित र प्रचार सामग्री बिज्ञापन गरेर बदनाम गराएको भन्दै असन्तुष्टि जनाएको हो । कांग्रेस कमलको आधिकारिक फेसबुक पेजमार्फत कमलले जनताले तिरेको कर जम्मा हुने नगरपालिकाको कोषबाट सहयोग लिन नमिल्ने मात्र होइन यसले कांग्रेसको गरिमा घटाउने दावी गरेको छ ।
कहिले बनभोजमा सहयोग लिने तथा अर्थहीन, अस्तित्वहीन हिड्नेहरूको जमात बढेकाले पार्टीको आन्तरिक बिषयमा नगरपालिकासंग हात फैलाउनुभन्दा विकास योजना तथा जनताका भावनालाई सशक्त रुपमा उठाउन समेत आग्रह गरिएको उल्लेख छ । पार्टीले विगत पाँच वर्षदेखि पार्टी गतिविधिलाई समेटेर नयाँ वर्षको भित्तेपात्रो निकाल्दै आएको छ । यस वर्ष भने देशमा उत्पन्न कोभिड– १९ नियन्त्रणका लागि गरिएको लकडाउनले विमोचन कार्यक्रम धकेलिएको हो । गत जेठ १० गते पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस वर्षको भित्तेपात्रो पार्टी जिल्ला सभापति उद्धव थापाले विमोचन गरेका थिए ।

यसैवीच, कमल कांग्रेसका सहसभापति राजकुमार न्यौपानेले कांग्रेस दमकले कमललाई सधै उपेक्षा गर्दै आएको, पार्टी कारवाहीमा सिफारिस गरिएका व्यक्तिलाई पनि पार्टीको औपचारिक कार्यक्रममा स्थान दिएको भन्दै असन्तुष्ट जनाईएको जानकारी दिए । गाउँ समितिसहित तत्कालीन क्षेत्रीय समितिले गत स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाका अध्यक्षका उम्मेद्वार हुकुमसिंह राईलाई हराउन महासमिति टिकाराज सापकोटाले साठगाँठ गरेको भन्दै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष कारवाहीको सिफारिस गरेको थियो । राई तत्कालीन एमालेकी मेनुका काफ्लेसंग गोला प्रथामा हारेका थिए । त्यहीँवाट कमलका कांग्रेसले उनीविरुद्ध कारवाहीका लागि माथिल्लो निकायमा पठाईएपनि यतिका दिन भईसक्दा पनि निर्णय हुन सकेको छैन ।
सहसभापति न्यौपानेले पार्टी गतिविधिविरुद्ध लागेपछि कारवाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई पार्टीको कार्यक्रममा स्थान दिनु, भित्तेपात्रोमा विवरण राख्ने कार्यले समग्र पार्टी कार्यकर्ताको भावनामाथि खेलवाड भएको आरोप लगाए । कांग्रेस दमकले निकालेको भित्तेपात्रोमा महासमिति सदस्यका रुपमा सापकोटाको फोटोसहितको विवरण राखिएको छ । तर, सात दिनअघि मात्र पार्टीको क्षेत्रीय समितिले निकालेको भित्तेपात्रोमा भने सापकोटाको विवरण हटाईएको छ ।
मनपरीले पार्टी बलियो हुदैन ः सभापति विष्ट
कांग्रेस दमक नगर सभापति रोशन विष्टले सामाजिक सञ्जालमा अनर्गल वाहियात हल्ला गर्दा पार्टी बलियो नहुने बताएका छन् । कांग्रेस कमलले आफनो साईटमा उल्लेख गरेको तिक्तताप्रति आफू आश्चर्यचकित भएको विष्टको भनाइ छ । पार्टी विधिसम्मत चल्ने र कसैको स्वार्थका लागि पद्धति विपरीत जान नसक्ने बताउँदै सभापति विष्टले महासमिति सदस्य सापकोटा कारवाही भईसकेको व्यक्ति नभएकाले यस विषयमा कसैले पनि अनर्गल प्रचार गर्न नहुने प्रष्टयाए । सापकोटालाई कारवाही गरिएको पत्र दमक कांग्रेसलाई प्राप्त नभएको भन्दै उनले भने,‘ त्यसै हैसियतले भित्तेपात्रोमा उनको विवरण समावेश गर्दै आएका छौ ।’
कारवाही गरिएको पत्र आए ,त्यही अनुसार गरिने उनले बताए । पार्टीमा कारवाही गर्ने अधिकार सर्वोच्च निकाय पार्टीको केन्द्रीय अनुशासन समितिसंग मात्र भएकाले त्यसको छिनोफानो नभएसम्म कारवाही परेका व्यक्तिका रुपमा हेर्न नहुने उनको भनाइ छ । उनले कमलका साथीहरुले नबुझेर या त पार्टी कमजोर वनाउन यसरी उद्धत भएकाले यसले पार्टीलाई कदापि हित नगर्ने बताए । उनले पार्टी भित्रका आन्तरिक कुरालाई यसरी छताछुल्ल गर्ने कार्य ठिक नभएको सुझाए । पार्टीभित्रको कुरा छलफल,संवाद गरेर समाधान निकाल्न सकिने भएकाले त्यसप्रति सवै नेता,कार्यकर्ताहरु जिम्मेवार बन्नुपर्ने उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्