भद्रपुर, जेठ १५ । मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने हुकुमी घोषणाले स्थानीय आन्दोलित भएको भद्रपुरका क्षेत्रका बुद्धिजीविले तर्क गरेका छन् ।

प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट तत्काल कोरोना अस्पताल निर्माण गर्ने भन्दै जिल्ला समन्वय समितिको नेतृत्वमा स्थानीय सरकारलाई समेत बेवास्ता गरेर आएको निर्णयले सरोकारवाला नागरिक आन्दोलित हुन बाध्य बनाएको बुद्धिजीवीहरू बुझाइ हो । विज्ञ समूहले स्थलगत अध्ययन गरी जनप्रतिनिधि समेतको राय लिएर कोरोना अस्पतालको अवधारणा ल्याइनु पर्नेमा केही व्यक्तिको स्वार्थपूर्तिको माध्यम बनाएर निर्णय आएपछि अस्पताल आसपास घर भएका हजारौं नागरिक कोरोना संक्रमण त्रासले विस्थापित हुने चिन्ताले आन्दोलित भएका हुन् । २१ करोडमा निर्माणाधिन भवनको आधा पाटो मात्र हतारमा निर्माण सम्पन्न गराइ अस्पताल बनाइने खेलले समेत अस्पतालका नाममा अर्कै खेलको गन्ध देखिएको बुद्धिजीवि बताउने गर्छन् ।
तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भइसक्नु पर्ने अस्पताल भवन गएका दुई आर्थिक वर्ष बजेट नपठाएर अलपत्र पार्नु अनि यस वर्षको पनि अन्तिम समयमा रातारात आधा भवन निर्माण सुचारू हुनु आफैमा प्रश्न उठ्ने विषय भएको भन्दै आर्थिक, प्राविधिक र गुणस्तरीयताका हिसावमा सो भवनको काम दीर्घकालिन फाइदाजनक नरहेको तर्क प्रा. डा पृथ्वीविक्रम राईको छ ।
उनका अनुसार बहुद्देश्य बोकेको मेडिकल कलेजको क्षमता राख्ने २१ करोडको भवन अलपत्र बनाएर ४—५ करोडका उपकरण ल्याइने आश्वासनले सुरक्षा प्रबन्ध विनाको कोरोना अस्पताल भद्रपुरको समृद्धि बन्न सक्दैन । कोरोना अस्पतालका लागि निर्माणाधिन, भद्रपुर नगरपालिकाको भवन, जिपी भवन, कलवलगुडी प्रशिक्षण केन्द्र, वा खाद्य संस्थान चन्द्रगढीको गोदाममध्ये कुनै एक प्रयोग गर्दा हुने विकल्प छोडेर अञ्चल अस्पतालको भवनको रटानले समस्या हल नहुने राईको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्