सिड्नी, जेठ १७ । विश्वभरि छरिएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहतस्वरूप ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर किट दिने भएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा बसेको बैठकले झापा जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा राहत वितरण कार्यमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे बताउंँदै समाजका प्रवक्ता बालहरि राईले उक्त जानकारी गराएका हुन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलका अनुसार कोरोनाको महामारीको समयमा आफ्नो जिल्ला र जिल्लावासीहरुसंग भौतिक दूरीले टाढा भएता पनि अन्तर्राष्ट्रिय झापाली समाज यो दुखमा सम्पूर्ण झापालीहरुको साथमा छ भन्दै बैठकले सम्पूर्ण राष्ट्रिय कार्य समितिसंग समन्वय गर्दै झापामा कोरोना पीडितको लागि राहत संकलन शुरूवात गर्ने निर्णय गरेको हो । ‘एकका लागि एक’ अभियानअन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोनाको परीक्षण गर्ने ल्यावको चाँडै व्यबस्था गरिएमा समाजले थप उल्लेखनीय सहयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । अध्यक्ष सुब्बाले उत्साहित हुँदै आफ्नो संस्थाले विगत बर्षमा पनि बाढीपहिरोबाट पीडित झापालीको ९ वटा घर बनाएर पुनःस्थापना गरेको र ३ वटा एम्बुलेन्स सञ्चालन गरी जिल्लावासीसंग सुखदुखमा सम्बन्ध जोडिरहेको स्मरण गराए । समाजका उपाध्यक्ष नविन पोखरेल हाल गृह जिल्ला झापामै राहतको लागि फिल्डमा खटिएकाले उनले जिल्लाका स्थानीय तह, एकका लागि एक अभियानसँग समेत समन्वय गरी आवश्यकताको आधारमा स्थानीय तहमा किट हस्तान्तरण गर्ने समेत बैठकले निर्णय गरेको छ । साथै आवश्यकताअनुसार अन्य राहत वितरण कार्यलाई पनि निरन्तरता दिइने सल्लाहकार रूपराज मैनालीले जानकारी दिएका छन् । जुम एप प्रयोग गरी सञ्चालन गरिएको अनलाइन बैठकमा समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, दिपक चुडाल, नबिन पोखरेल, कोषाध्यक्ष चुडामणि कार्की, प्रवक्ता बालहरि राईलगायतका पदाधिकारीको सहभागिता थियो भने सञ्चालन महासचिव खेमराज जमरकट्टेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्