झापा, जेठ १७ नेपालमा पछिल्लो २४ घण्टामा थप १८९ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १८५ जना पुरुष र ४ महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । यो संगै नेपालमा संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । संक्रमित मध्ये १ हजार २८८ पुरुष र ११३ महिला छन् ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जनालाई कोरोना पुष्टि भएको छ । जसमा कपिलवस्तुका १६ देखि ६० वर्ष उमेरसम्मका ७७ जना पुरुष, धनुषाका २० देखि ४२ वर्ष उमेरसम्मका ७ जना, झापाका ४५ वर्षका १ जना पुरुष, ललितपुरकी २३ वर्षकी महिला, महोत्तरीका २५ दखि ५५ वर्ष उमेरसम्मका ४ जना, रौतहटका १८ देखि ४५ वर्षउमेर सम्मका ६ जना, सर्लाहीका १७ देखि ४० वर्षउमेरका १७ जना र सिरहाका १७ देखि ४० वर्षका ११ जना रहेका छन् । यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा सबैजना कपिलवस्तु यशोधराका १५ देखि ५० वर्षका पुरुष छन् । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीमा १८ देखि २८ वर्ष उमेरसम्मका ८ जना पुरुष र एक महिलालाई कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनालाई पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तु विजयनगरका २६ देखि ५२ वर्ष उमेर सम्मका ३ जना पुरुष, हापुरे दाङका ३० वर्षका पुरुष, बग्लाचुली दाङका २७ देखि ३० वर्षका ३ जना पुरुष र २८ वर्षकी एक जना महिला छन् । यस्तै नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा बारा हर्दियाका २४ वर्षका पुरुष र पर्सा पसौनीका १८ वर्षको पुरुष र ६० वर्षकी महिला छन् ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १४ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्