झापा, जेठ १७ । दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना भाइरस रोग (कोेभिड १९) को संक्रमण रहेको पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुल्लु नगरपालिका वडा नं. ७, पटांगिनी बजार, दैलेखस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका दुल्लु नगरपालिका वडा नं. ११, खागितडा, दैलेख निवासी ३५ वर्षीय पुरुषमा कोभिड १९ संग सम्बन्धित लक्षणहरु नभएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका ती पुरुष आज बिहान ७ बजे एक्कासी ढलेको र केही समयमै उनको मृत्यु भएको थियो । मृतकको मृत्युपश्चात कोभिड १९ को स्वाब संकलन गरी कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाइएको थियो ।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची र बाँकेमा एक—एक जना पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्