इन्द्रसिंह राजवंशी,

कमरेड हंशलाल राजवंशी एक इमान्दार कम्युनिस्ट नेता हुनुहुन्थ्यो । २०५५ सालमा भेट भएको थियो हाम्रो । वहाँ नेकपा (माले) को जिल्ला कमिटी सदस्य ,म नेकपा(माओवादी)को झापा— इलाम सेक्रेटरी । हामीले २ घण्टा छलफल गरेका थियौं । माओवादी जनयुद्ध , समग्र मुक्ति आन्दोलन र कम्युनिस्टहरुबीचको सहकार्यको विषयमा । पछि हामी एकै ठाउँ भयौं र मुक्ति आन्दोलनमा एउटै धाराबाट सहभागी भइरह्याँै आन्दोलनमा । पछिल्लो समयमा वहाँ १ नम्बर प्रदेश कमिटीको सदस्य तथा कोच मोर्चाको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । आज वहाँको व्रेन हेम्रेजको कारण निधन भएको दुःखद खवर सुनियो । अलविदा हंश कमरेड भन्नू भन्दा अरु विकल्प पनि केही बाँकी रहेन । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पनि सहभागी हुन सकिएन । दुःखको यो घडीमा म यो समाजिक सन्जालमार्फत नै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ समर काफ्ले ,नेता नेकपा
‘जीवनमा धेरै कुरा गुमाएँ होला तर आजभन्दा ४२ बर्ष अघिदेखि एउटै ओछ्यानमा सुतेर,एउटै थालमा संगै खाएर युवा बिद्यार्थी आन्दोलनमा संगठित मेरो प्यारो मित्र हंशलाल राजवंशी बित्नुभएको खवरले आफ्नै हंस गुमेको अनुभूति भएको छ आज ।न्यानो श्रद्धाञ्जली मेरो अनन्य मित्रलाई ।’— चन्द्र भण्डारी, बुद्धिजीवि ।
‘अनेरास्ववियूका २०३७—३९ का केन्द्रीय सदस्य, हाल नेकपाका प्रदेश नं १ का सदस्य कमरेड हंशलाल राजवशींको असामयिक निधन भएकोमा दुःख ब्यक्त गर्दै वहाँमा हार्दिक श्रद्धान्जली प्रकट गर्दछु ।’योगेश भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

अनेरास्ववियु, पाँचौ धारको स्थापनाकालका एकजना अगुवा, नेकपा, प्रदेश नं १ का सदस्य कमरेड हंशलाल राजवंशीप्रति हार्दिक श्रद्धाञ्जली !’घनश्याम भुसाल, कृषिमन्त्री
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हंशलाल राजवंशीको निधनप्रति समर्पित यी हुन् श्रद्धाञ्जलीका केही शब्दहरु ।उनलाई गुमाउनु पर्दाको पीडाले यतिबेला धेरैलाई दुखित तुल्याएको छ । देश र समाजले एकजना जुझारु र सहयोद्धा नेता गुमाएको छ । उनको निधनले कम्युनिष्ट पार्टीसँगै सिंगो कोच समुदायले अपुरणीय क्षति ब्यहोर्नु परेको छ । झापा मेचीनगर १३ निवासी ६३ वर्षिय राजवंशीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । २०१४ सालमा जन्मेका राजवंशीले विद्यार्थीकालदेखि नै राजनीति थालेका थिए । २०३६ सालमा मेची बहुमुखी क्याम्पस पढ्दादेखि नै अखिलको राजनीति थालेका राजवंशीलाई कम्युनिष्ट आन्दोलनको अगुवाको रुपमा लिन सकिन्छ । ‘ शुरुवातीकालमा उहाँ उदीयमान नेताको रुपमा हुनुहुन्थ्यो’ नेकपाका केन्द्रीय सदस्य रविन कोइराला भन्छन्, प्रतिभाशाली र क्षमतावान भएरै उहाँले त्यो कठिन घडीमा विद्यार्थी संगठन चलाउन सक्नुभयो ।‘ अखिलको झापा जिल्ला इन्चार्ज हुँदै उनले मेची अञ्चल पनि जिम्मेवारी सम्हालेका थिए । संगठन विस्तारका क्रममा ताप्लेजुङ जाँदा उनी पक्राउ परे । संगठन विस्तारका लागि झापा , इलाम , पाँचथर र ताप्लेजुङ कुदिरहन्थे । नेकपाका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज कोइराला राजवंशीलाई आफ्नो अग्रज मान्छन् । उनी भन्छन्, ‘उहाँकै मातहतमा मैले जिल्ला कमिटीमा बसेर राजनीतिक जीवन शुरुवात गरेँ ।’ दक्षता र क्षमताकै कारण राजवंशी अखिलको केन्द्रीय सदस्यसमेत भएका थिए ।
हाल वर्तमान सरकारमा रहेका पर्यटन मन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल राजवंशीका राजनीतिक समकालीन हुन् । २०४३—०४४ सालमा उनीहरुले संगै विद्यार्थी संगठन चलाएका थिए । ‘उहाँको विद्यार्थी राजनीति जीवन अत्यन्त सशक्त थियो ’मेचीनगरका १३ नं वडाका वडाध्यक्ष कृष्ण सिग्देल संझन्छन्,‘पछि उहाँले आफूले आफूलाई चिन्नसक्नु भएन ।’ विद्यार्थी संगठनबाट नेकपा एमालेमा बढुवा भएका राजवंशीले २०५४ सालमा स्थानीय निकायको निर्वाचन जितेका थिए । २०५४ जेठ १३ गते भएको निर्वाचनमा उनी तत्कालीन दुवागढी गाउँ विकास समितिको उपाध्यक्ष पदमा निर्वाचित भए । उनले नेपाली कांग्रेसका माधव काफ्लेलाई पराजित गरे । एमालेबाटै निर्वाचित अध्यक्षका शंकर पोखरेलभन्दा उनले बढी मत ल्याए । पोखरेलले १८०० र राजवंशीले १९२३ मत हासिल गरे । नेपाली कांग्रेसका जय थेबेसँग मुख्य प्रतिष्पर्धा गरेका पोखरेलकोे बिरुद्धमा बागी उम्मेद्वार डिगेन राजवंशी उठेका थिए । त्यसको अर्को वर्षको फागुनमा एमाले पार्टी फुट्यो । त्यसक्रममा राजवंशी माले भए । ‘पार्टी फुटेर राजनीतिक रुपमा अलग भएपनि हामीबीच तीतो कहिल्यै भएन’ दुवागढीका पूर्व गाविस अध्यक्ष पोखरेल भन्छन्, ‘ उहाँसँग मैले जतिको संगत कसैले पनि गरेको छैन ।’ आफूहरु दुवैले २०५९ असार ३२ सम्म हार्दिकताका साथ दुवागढी गाविस चलाएको पोखरेल बताउँछन् ।

जातीय कार्यक्रममा सहभागी हंशलाल

नेकपा मालेमा गएपछि उनी त्यहाँ जिल्ला कमिटी सदस्य बने । त्यसबेलाको पार्टी विभाजनको राजनीतिक अस्थिरताले उनलाई पनि प्रभावित बनायो । उनी माले छोडेर केही समय निश्क्रिय बने । ‘माले छोडेपछि मैले नै सल्लाह दिएर उहाँले लोकदल पार्टी खोल्नुभयो ’ राजवंशीका हितैषी पोखरेलले भने,‘ उहाँ २०५६ सालको निर्वाचनमा त्यस पार्टीको सांसदको उम्मेद्वार भएर चुनाव पनि लड्नुभयो ।’ राजवंशीको पारिवारिक पृष्ठभूमि हेर्दा उनको परिवारलाई सचेत मान्न सकिन्छ । परिवर्तनकारी सोचसँगै आफ्नो जाति र सम्प्रदायको लागि केही गर्ने उद्देश्य राखेर राजवंशी त्यसपछि माओवादी(खासगरेर कोच आन्दोलन) प्रति आकर्षित भए । २०६० सालमा उनी माओवादीमा प्रवेश गरे । झापाको कलवलगुडीमा भएको कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनबाट माओवादी आबद्ध कोच संगठनमा प्रवेश गरेका राजवंशीले पार्टीसँगै जाति समुदायमा दह्रो उपस्थिति बनाए । उनी पार्टीको जिल्ला सचिवालय सदस्य हुँदै कोचिला राज्य समिति सदस्य भए । २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा उनी मेचीनगर नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार बने । तेस्रो स्थान ल्याउन सफल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याए ।

परिवारसँग नेता हंशलाल

करीव दुई वर्षअघि प्रदेशसभाको निर्वाचनका वेला कोचिला राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पूर्णसिंह राजवंशीले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए । पूर्णसिंह प्रदेश साँसद निर्वाचित भएपछि उनी त्यस संगठनको अध्यक्ष बनेका थिए । एमाले र माओवादी पार्टी एकीकरणपश्चात् प्रादेशिक कमिटीहरु मिलाउने क्रममा उनी नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी सदस्य बनेर राजनीतिप्रति क्रियाशील रहेका थिए । ‘हामीले एकजना जुझारु नेता गुमाएका छौं ’प्रदेश सांसद पूर्णसिंह भन्छन्, ‘यो क्षतिको भर्पाइ गर्न गाह्रो छ ।’ उनले जातीय समुदायमा मात्र नभएर सबैका लागि यो दुखद घटना भएको बताए । सबैमाझ लोकप्रिय अनि विद्रोही स्वभावका नेता राजवंशीको आज देउनिया घाटमा दाहसंस्कार गरिदैछ । भौतिक शरीर नष्ट भएर गएपनि उनको योगदान इतिहासमा सधैँ चिरस्मरणीय रहिरहनेछ । उनले देखाएको बाटोले मार्गनिर्देशन गरिरहने छ । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भन्न चाहन्छौ अलविदा !

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्