बैगुनधुरा , जेठ १९ । दुई युवामा कोरोना पुष्टि भएको बैगुनधुरामा सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गरिएको छ ।

अमर माध्यमिक विद्यालयको भवनमा ३० वेडको क्वारेन्टाइन निर्माण गरिएको गौरादह नगरपालिका — ९ का वडासदस्य कृष्ण गौतमले बताए । क्वारेन्टाइनमा पहिलो प्राथमिकता वडाबासीलाई दिइने र बाहिरबाट एकै समूहमा आउनेलाई राख्ने योजनाअनुरुप क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्ष सीताराम भट्टराईले बताए । क्वारेन्टाइनमा विद्युत , पानी , रासन, शौचालय र अन्य सुविधाको प्रबन्ध गरिएको छ । क्वारेन्टाइनको व्यवस्थापनका लागि ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । नियमित एकजना स्वास्थ्यकर्मी रहने सो क्वारेन्टाइन नगरपालिकाले सुरक्षा गार्डको व्यवस्था गर्ने छ । अहिले नजिकै रहेको सशस्त्र प्रहरीले रेखदेख गरिरहेको छ । पंखा जडान, म्याट्रेस र झुलको व्यवस्थापन गरी वेड तयार गरिएको र खाना बनाउन, वितरण गर्न र आवश्यक सामग्री आपूर्ति गर्न पाँच जना स्थानीय युवालाई जिम्मेवारी दिइएको वडाध्यक्ष भट्टराईले जानकारी दिए । सुरक्षाकर्मी , रेडक्रसकर्मी , स्वास्थ्यकर्मी, शिक्षक र जनप्रतिनिधिको निगरानी रहने क्वारेन्टाइनको फोकल पर्सनको जिम्मेवारी वडासचिव राम दहाललाई तोकिएको वडासदस्य गौतमले जानकारी दिए । गत बुधबार गौरादह — ९ माथिल्लो दहगाउँका दुई युवामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि सो क्वारेन्टाइन निर्माण सुरु गरिएको थियो । भारतबाट आएका कोरोना संक्रमित ती दुई युवालाई गौरादह— ७ ग्वालडुब्बाको क्वारेन्टाइनमा राखिएको थियो । कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेका ती युवाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्