मेचीनगर ,जेठ २१ । झापाका उद्योगी व्यवसायीले व्यवसाय सुचारु गर्न तीनदिने अल्टिमेटम दिएका छन् ।

हिजो मेचीनगर उद्योग बाणिज्य संघमा जम्मा भएका उद्योगी व्यवसायीले त्यस्तो अल्टिमेटम दिएका हुन् । उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य , अध्यक्ष र प्रतिनिधिहरुको उपस्थितिमा भएको छलफलले थप बन्दाबन्दी अस्वीकार गर्ने निर्णय गरेको छ ।
छलफलमा ६ बुँदे निर्णय भएको छ । कोरोनाका कारणबाट ७५ दिनसम्म बन्दाबन्दी हुँदा उद्योगी व्यवसायीलाई ठूलो क्षति पुगेको र सरकारबाट कुनै सहुलियत घोषणा नभएको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका छन् । चौतर्फी दवाब परेपछि बाध्य भएर बजार खुल्ला गर्ने निर्णय लिनु परेको नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताए ।
महासंघका अर्का केन्द्रीय सदस्य केशवराज पाण्डेले सरकारले लकडाउनको व्यवस्थापन गर्न नसकेको बताए ।जिल्लाका सबै उद्योग व्यवसाय खुल्ला गराउन संघहरु बाध्य हुने छलफलको निश्कर्ष छ ।
छलफलमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायीले सास्ती भोग्नु परेको बताए ।
छलफलमा सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसाय प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाईदिन सरकारसँग माग गर्ने सहमति जुटेको छ । त्यसैगरी जेठ २३ गतेसम्म सरकार र जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय खोल्ने र अनुकुल निर्णय नगरे २४ गतेदेखि सबै व्यवसाय खुल्ला गर्न व्यवसायी सहमत भएका छन् ।
भेलाले चलचित्र घर, पार्टी प्यालेस, जिमखाना, होटल, रेष्टुरेण्ट हाललाई बन्द नै राख्ने निर्णय लिएको छ । तर, रेष्टुरेण्ट खाजाघरको हकमा अधिकतम् सुरक्षा सावधानी अपनाएर होमडलिभरी तथा अर्डर अनुसारको सेवा संचालन गरिने सहमति भएको बताइएको छ ।
औषधि, डेरी, कृषि सामग्री, मल बीउविजन, भेटनरी, बैंक वित्तीय संस्था नियमित संचालन गर्न पाउनु पर्ने माग व्यवसायीको छ ।
लकडाउन जेठ ३२ गतेसम्म थप गरिएको कारण समस्या जटिल भएको व्यवसायीको तर्क छ । सबै प्रकारका कर तथा शुल्क जेठ २५ गतेभित्र तिर्नु पर्ने अन्यथा थप दस्तुर,जरीवाना तथा ब्याजसमेत लाग्ने भन्ने भनी सरकारले निर्देशन अव्यवहारिक भएकाले तत्काल फिर्ता लिन भेलाले माग गरेको छ ।झापाका उद्योग बाणिज्य संघहरुले २०७७ वैशाख २६ गते पारित १० बुँदे माग पुनः स्मरण गराउँदै तत्काल कार्यान्वयनका लागि भेलाले अनुरोध गरेको छ । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा भएको छलफलमा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चापागार्इँ, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, झापा उद्योग बाणिज्य संघका उपाध्यक्ष सन्तोष धमला, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, कमलनगर उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनाली, दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्