कचनकवल, जेठ २१ । एक सयजना कोरोना संक्रमित भेटिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा रहेका क्वारेन्टाइनलाई गुड नभेर इन्टरनेशनलको आर्थिक सहयोग तथा नारी कल्याण समाज झापाको सहकार्यमा एक हजार लिटर क्षमता भएको सातवटा पानीट्यांकी र सात थान इलेक्ट्रिक फिल्टर प्रदान गरिएको छ ।

प्रदेश सांसद बसन्त बानियाँको पहलमा गाउँपालिकालाई ती सामग्री प्रदान गरिएको हो । इन्टरनेशनल र समाजका पदाधिकारीसहित आएको टोलीले मंगलवार गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरि राजवंशीलाई सो सामग्री हस्तान्तरण गरेको हो । पथरिया माविको क्वारेन्टाइनमा पुगेर उनीहरूले एउटा पानीट्यांकी र फिल्टर जडान गरिदिएको प्रदेश सांसद बानियाँले जानकारी दिए । अब गाउँपालिकामा रहेको अन्य क्वारेन्टाइनमा पनि स्वच्छ र सफा पानीका लागि पानीट्यांकी र फिल्टर जडान गरिने उनले जानकारी दिए ।
यसअघि सिस्नो पानी नेपालले २५ थान पीपीई, एक कार्टुन स्यानिटाइजर, २५ थान स्यानिटाइजर स्पे्र, एक हजार सर्जिकल मास्क, २५ थान पानी तताउने भाँडो, ५० थान झुल, १५० थान गम्छा, १५ थान मग, ७५ थान तकिया, एक सय पिस साबुनलगायतका सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
हाल गाउँपालिकाका क्वारेन्टाइनमा भारतबाट आएका साढे तीन सयबढीलाई राखिएको छ, भने संक्रमित एक सयमध्ये १७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्