विष्णु सुब्बा,
दमक, जेठ २२ । कमल गाउँपालिका ७ का राजु केरुङ्ग एक दशक लामो समय वैदेशिक रोजगारीमा खाडी मुलुक गए । विदेशमा जतिसुकै श्रम गरेपनि भनेअनुसार आयआर्जन गर्न नसकेपछि विदेश त्यागेर दुई वर्षअघि स्वदेश फर्किए । स्वदेश आएपछि घरमा खाली वस्नुभन्दा सानो उद्यमका रुपमा कुखुरापालन शुरु गरे । विस्तारै राम्रै आम्दानी दिन थालेपछि उनले उद्यमलाई व्यावसायिक वनाउने तयारी गरेका छन् । अव कुखुरापालनलाई व्यावसायिक उद्यमका रुपमा गर्नेे सोच बनाएको उनले सुनाए ।

वर्षदिन अघि घरको सानो करेसावारीमा शुरु गरेको उनको कुखुरापालन फस्टाउँदै गएको छ । सय कुखुराबाट शुरु भएको कुखुरा अहिले ५ सयबढी पुर्याएका छन् । लोकल जातका कुखुरा पाल्दै आएका उद्यमी केरुङ्गले तीन महिनामै हर्काएर कुखुरा विक्री गर्ने गरेका छन् । ‘ एउटा कुखुरा सरदर २ देखि ३ केजीसम्मका तयार हुन्छन् ’ उनले भने , ‘सवै कुखुरा स्थानीय वजारमै खपत हुन्छन् ।’ स्थानीय जातको कुखुराको वजार अभाव नहुने भएकाले पनि यसको माग उच्च भएको उनको बुझाइ छ ।
उनका अनुसार स्थानीय जातको कुखुरा प्रतिकेजी ५ सय रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ । व्यापारीले घरैबाट कुखुरा उठाउँछन् ,बजारको खासै समस्या नभएको उद्यमी केरुङ्गको भनाइ छ । तर खोरमै आउने विचौलियाले गर्दा भनेजस्तो कुखुराको मूल्य नपाएको उनको गुनासो छ । तीन महिनामा २५० वटा कुखुरा विक्री गरेर त्यसको आम्दानीवाट परिवार धान्न टेवा पुगेको उनको भनाइ छ । तीन महिनामा कुखुरा बेचेर २ लाखमाथिको कारोवार हुने गरेको र त्यसवाट करीव एक लाख भने कमाई भएको उनी सुनाउँछन् । उद्यमबाट सन्तुष्ट भएको बताउँदै उनले मेहनत गर्न सकिए विदेशको कमाई घरमा बसेर पनि गर्न सकिदो रहेछ भन्ने विश्वास ब्यक्त गरे । साँच्चै मेहनत गर्दा आप्mनै ठाउँमा पनि पैसा कमाउन सकिने आफैवाट पत्यार लागेको उनको भनाइ छ । शुरुमा खोइ होला के भन्ने मात्र चिन्ता आउँथ्यो तर अहिले कामले नै मेहनती बनाएको उनको अनुभव छ । भन्छन् ,‘काम गर्दा आवश्यक ज्ञान र मेहनत भए कहिल्यै अप्ठ्यारो अवस्था झेल्नुपर्दैन । ’
कखुराको चल्लासहित खोर तयार गर्दा एक लाख खर्च भएको र त्यही उद्यम विस्तारै बढ्दै गएको उनी बताउँछन् । यस उद्यमबाट आम्दानी भएकाले पनि अव यसैलाई दीगो व्यवसायका रुपमा विस्तार गर्न लागेको उनको योजना छ । कुखुरालाई चाहिने आहारासंगै हेरचाहमा ध्यान पुर्याउन सके छिट्टै वढ्ने र रोग पनि नलाग्ने भएकाले त्यसमा होसियारी हुनुपर्ने उनको सल्लाह छ । कुखुराको आहारा तथा हेरचाहमा आफै तथा परिवारका सदस्यहरुले सहयोग पुर्याउदै आएका छन् । उनी भन्छन् ,‘कुखुरापालनबाट विदेशको जतिकै आम्दानी दिने माध्यमको रुपमा बनाउने छु ’
विदेशबाट फर्किएका धेरै युवाहरु यतिखेर आफनै ढंगले कृषिकर्म गर्दै आएका छन् । गाईवस्तु,कुखुरासंगै विभिन्न घरेलु उद्यमशीलतामा युवाहरुको आकर्षित छन् । परिवारसंग टाढा बसेर विदेशमा दुख बुझेका धेरैले स्वदेश फर्किएपछि यसरी नै आयआर्जनका लागि कृषिकर्ममा आकर्षित भएको केरुङ बताउँछन् । ‘विदेशबाट आफूसंगै घर आएका धेरै साथीहरुले यस्तै कृषिकर्म गर्दै आएका छन् ’ उनले भने ,‘ कृषिकर्ममा नै रोजगारीको बलियो वजार छ,इमान्दार भएर काम गर्दा सफलता टाढा छैन ’ कृषिकर्मले धेरै युवाहरुलाई आफ्नै ठाउँमा आत्मनिर्भर बनाएको समेत बताए ।
कमल गाउँपालिकाभित्र पछिल्ला बर्ष कुखुरापालनमा आकर्षित धेरैका लागि रोजगारीको बैकल्पिक पेशा बनेको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोख्रेलले बताए । एक अध्ययनअनुसार गाउँपालिकाभित्र अहिले एक सय हाराहारीमा वैदेशिक रोजगारी त्यागेर आफनो ठाउँ आएका युवाहरुले कृषिकर्ममध्ये कुखुरापालन पेशा अपनाउँदै आएको उनले बताए । कुखुरापालन विस्तारै व्यावसायिक बन्दै गएकाले त्यसको वजारसहित व्यावसायिक प्रवद्र्धनमा समेत गाउँपालिकाले सहयोग पुर्याउदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्