द्रोण अधिकारी,
भद्रपुर, जेठ २२ । डिभिजन वन कार्यालय झापाले यस वर्ष जिल्लाका ५ स्थानबाट हरियाली बचाउ तथा वन बढाउ अभियानअन्तर्गत चार लाख दुई हजार बिरूवा वितरण गर्ने भएको छ ।

११.२४ हेक्टर क्षेत्र मात्र वन रहेको झापामा निजी वन विस्तारमार्फत पर्यावरण संरक्षणमा वन बढाऊ अभियानका लागि झापाको झिलझिले, सुरूङ्गा, चन्द्रगढी, बहुवन र जलथल गरी ५ स्थानबाट बिरूवा वितरण गर्ने भएको हो ।
कार्यालयले विभिन्न जातका डाले घाँस, काठका बिरूवा र फलफूलका गरी ४ लाख २ हजार बिरूवा वितरण गर्न लागेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिएका छन् । प्रमुख घिमिरेका अनुसार आवश्यकता र जमिनको अवस्था हेरेर न्यूनतम ५ देखि २५० सम्म बिरूवा प्रदान गरिने छ । ५ वटासम्म बिरूवा दिने व्यक्तिले सामान्य निवेदन दिए पुग्छ भने सोभन्दा बढी बिरूवा लिन चाहने व्यक्तिले बिरूवा रोप्न चाहेको जग्गाको धनीपूर्जाको फोटोकपिसित निवेदन, कम्तीमा वडा कार्यालयको सिफारिस लिएर आउनु पर्ने छ । निजी वन लगाउन चाहने व्यक्ति लक्षित अभियान रहेको भन्दै प्रमुख घिमिरेले झापामा वन क्षेत्र बढाउन प्रदेश सरकार तथा संघीय सरकारको सहकार्य रहेको जनाएका छन् ।
यस वर्ष संघीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको छ । त्यस्तै संघीय सरकारअन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने प्रमुख घिमिरेले जानकारी दिएका छन् ।टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने छ । स्थानीय माटो सुहाउँदा जातका बोटबिरुवा वितरण गर्ने सोचअनुरूप वन पैदावरको उत्पादन र स्थानीय जातका बोटविरुवाको पनि संरक्षण गर्न कार्यालय लागिपरेको जनाइएको छ ।कार्यालयले पहिलो चरणमा गत वर्षकै उत्पादन ७५ हजार बिरुवा वितरण गर्ने तयारी थालेको छ । कार्यालय मातहतका सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा रहेका बिरुवा वितरणको तयारी गरेको हो । फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया पूरा गरिसकेको छ । बोलपत्र स्वीकृत भइसकेकाले छिटै ती बिरूवा कार्यालयमा आइपुग्ने र वितरण हुने छ ।कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य राखेको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने समेत कार्यालयको उद्देश्य छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्