दमक, जेठ २२ । झापाको दमक नगरपालिका ३ मा निर्माण गरिने विश्वकै अग्लो बुद्धमूर्ति निर्माणस्थलमा घेराबाराको काम शुरु भएको छ ।

फाइल तस्वीर

संघीय सरकारले चालु आर्थिक बर्षमा सो घेराबाराका लागि एक करोड रुपैयाँ विनियोजन गरेपछि ठेक्का प्रकृयाबाट हेना कन्स्ट्रक्सनले ६८ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी कामको सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।
घेराबाराको बुधबार यहाँ आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । त्यहाँ ३५० मिटर लामो कंक्रिट र गृलको घेराबारा गरिने दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए । नगर प्रमुख ओलीले शिलान्यास कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै निर्धारित समयभित्रै घेराबाराको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले त्यहाँ निर्माण हुने राष्ट्रियस्तरको सो योजनाले दमकलाई संसारभरि चिनाउने बताए । करिव १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
बुद्धमूर्ति पार्क बनाउन १७ अर्ब ९५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । दमक नगरपालिकाले विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकेको छ । बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने तथा आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।
आयोजनाभित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशालालगायतका संरचना निर्माण हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्