दमक, जेठ २२ । झापाको दमक नगरपालिका र गौरीगञ्ज गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिने भएको छ । ती दुवै पालिकाले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाईएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार नगरका १० वटै वडाका कुल एक सय जनालाई यही असार २५ गतेसम्म दैनिक ज्यालादारीमा काम गर्नेगरी रोजगारी दिन शुरु गरिएको छ ।त्यसका लागि नगरपालिकाले सबै वडा कार्यालयहरुलाई पत्राचार गरी सार्वजनिक विकासका काम गर्नेगरी जेठ २१ देखि असार २५ सम्म दैनिक ज्यालादारीमा रोजगारको अवसर प्रदान गर्न लागिएको उनले जानकारी दिए । नगरपालिकाको सो पत्राचारसंगै कतिपय वडाहरुले यसअघिको निर्णयबमोजिम बेरोजगार युवाहरुलाई रोजगार दिन थालेका हुन् ।
दमक ३ का वडा सचिव सन्दिप सुवेदीले सो वडाका १० जनालाई वृक्षरोपणको काममा खटाइएको जानकारी दिए । उनका अनुसार सो वडामा अधिकांश महिलाहरुले बेरोजगार रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिताका लागि निवेदन गरेका थिए ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिकाले भने गाउँपालिकाअन्तर्गतका ६ वटै वडामा २०÷२० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । तर सबै वडामा इच्छुकहरुले अझै रोजगारी पाउने वातावरण निश्चित भईनसकेको बताइएको छ ।
गाउँपालिकाका कुल १२० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने योजनाअन्तर्गत वडा नम्बर १ मा कमल खोला तटबन्धन गर्ने योजना रहेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए । सो कार्यक्रममा सहभागी भएर काम गर्ने बेरोजगार युवाहरुलाई दैनिक ५१७ रुपैयाँ पारिश्रमिक पाउने सरकारले व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्