झापा, जेठ२२ ।भद्रपुर नगर प्रशासनले क्वारेन्टाइन व्यवस्थापनमा लापरवाही गरेको छ ।

नगर प्रशासनको लापरवाहीको पछिल्लो नमूना क्वारेन्टाइनमा रहेका व्यक्तिको रिपोर्ट आउनु अगाडि बिहीबार तीन जना संक्रमितलाई घर पठाइएको घटनाले प्रष्ट पार्छ । स्वास्थ्य शाखाका कर्मचारी तथा नगर प्रमुखको आदेश भन्दै रिपोर्ट आउनु अघि नै घर पठाइएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि घरबाट फर्किनु परेको छ । यस प्रकरणले नगरबासीमा कोरोना संक्रमण त्रास बढाइदिएको छ ।
भद्रपुर १० स्थित कलबलगुडीको क्वारेन्टाइनमा बसेका ९ जनाको समूहमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुरूमा छ जनाको नेगेटिभ रिपोर्ट पठाएको थियो ।
तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै नौ जनालाई घर पठाएको थियो । नगरपालिकाले क्वारेन्टाइनमा राख्न ल्याउने र संक्रमित बोक्ने गाडीबाट घरघर लगिएको थियो । नेगेटिभ आएका ६ जना, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, चालक र सहचालकसँगै तीन जना संक्रमित एउटै गाडी चढेर घर गएका थिए ।
नेपाली सेनाको निगरानीमा रहेको क्वारेन्टाइनमा नगरप्रमुख श्रेष्ठले सबैको नेगेटिभ रिपोर्टको आएको भनेपछि सबैलाई छाडिएको बताइएको छ ।
सुरक्षा श्रोतका अनुसार जेठ ६ गते अगाडिसम्म सो क्वारेन्टाइन व्यवस्थित र सुरक्षित थियो । तर नगर प्रशासन हावी हुने क्रम बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको हो । पछिल्ला केही हप्तायता क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षण विवरण सुरक्षा संयन्त्रले सिधै थाहा पाउन सकेको छैन । त्यहाँ बस्नेहरूले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो भने अब घर जाने हो भन्दै सुनाउने गरेका छन् भने पोजेटिभ आउँदा सुनाउने गरेका छैनन् ।
यस्तै क्वारेन्टाइनमा ल्याइने व्यक्ति र त्यहाँबाट लैजाने व्यक्तिको समयमै जानकारी दिन नसकेको नगर प्रशासनको हस्तक्षेपकारी कार्यप्रति सुरक्षा संयन्त्रले असन्तुष्टि जनाउने गरेको छ । नगर प्रशासनको गैर जिम्मेवारीले गर्दा क्वारेन्टाइनको न्यूनतम सरसफाइमा समेत व्यवस्थापन पक्ष चुक्ने अवस्था आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्