झापा ,जेठ २३ । विश्वका ४० वटा देशमा रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजले गृह जिल्लाका १५ वटै पालिकालाई भिटिएम किट उपलब्ध गराउन थालेको छ ।

कन्काई नगरपालिकालाई किट हस्तान्तरण गर्दै

कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भिटिएम किट अभाव भएपछि अन्तर्राष्ट्रिय झापाली समाजले पालिकाहरुलाई सो सहयोग उपलब्ध गराएको हो । समाजका उपाध्यक्ष नवीन पोखरेलसहितको टिम ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक— एक सय थान किट उपलब्ध गराउन खटिएको छ ।यसक्रममा आज कन्काई नगरपालिका , अर्जुनधारा नगरपालिका,बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकालाई एक— एक सय थान किट प्रदान गरिएको पोखरेलले बताए ।

बिर्तामोड नगरपालिकालाई किट हस्तान्तरण गर्दै

भोलि वुद्धशान्ति,भद्रपुर, कचनकवल,वाह्रदशी, झापा, गौरादह र गौरीगञ्जलाई किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रथम चरणमा भिटिएम किट उपलब्ध गराउने कार्यक्रम रहेको बताउँदै पोखरेलले अर्को चरणमा झापामा कोरोना परीक्षण ल्याव स्थापनाका लागि सहयोग पुर्याउने योजना रहेको जानकारी दिएका छन् । विभिन्न देशमा रहेका झापाली समाजसँग संकलन गरेर गृह जिल्लाको हरेक विपद् र सामाजिक कार्यमा अन्तर्राष्ट्रिय झापाली समाजले सहयोग गर्दै आएको वरिष्ठ उपाध्यक्ष दीपक खनालले बताए । समाजले पालिकाको कार्यालयमै पुगेर सहयोग उपलब्ध गराएको हो ।कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका नगर उप—प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले भिटिएम किट ग्रहण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्