झापा, जेठ २३ ।मेची अभियानले भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया) ५ सय थान मेचीनगरमा ल्याइपुर्याएको छ । यो पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब परीक्षण केन्द्र (ल्याब) सम्म पुर्याउन आवश्यक पर्ने एक प्रकारको ट्युब हो ।

झापाका विभिन्न स्थानीय तहलाई वितरण गर्न उक्त भिटिएम ल्याइएको अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए । डालमियाले भने,‘ ५ सय थान भिटिएम आइपुगेको छ । झापाका केही स्थानीय तहलाई तत्काल वितरण गर्छौ।’
यो ट्युबको अभावमा झापाका विभिन्न क्वारेन्टाईनमा बसेकाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउन गाह्रो भएको सार्वजनिक भएपछि जनस्तरबाट भिटिएम ल्याएर वितरण गर्ने काम भइरहेको छ । झापाका स्थानीय तहलाई मेची अभियानले भिटिएम निःशुल्क वितरण गर्न लागेको संयोजक डालमियाले बताए । यसअघि एकका लागि एक अभियानले ३६० थान भिटिएम ल्याएर कचनकवल गाउँपालिकालाई दिइसकेको छ । तर, जिल्ला समन्वय समिति झापाले एक हजार र १५ वटै पालिकाले ५ — ५ सय थान भिटिएम किन्ने भने पनि अझै ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्