झापा ,जेठ २५ । जनस्तरबाट संचालित मेची अभियानले झापाका कोरोना संक्रमण देखिएका तथा सीमावर्ती पालिकालाई लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

अभियानका संयोजक विजय डालमियाका अनुसार ६ वटा पालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामानमा भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा कवच ( पीपीए), सेनिटाइजर र मास्क छन् । संयोजक डालमियाले दिएको जानकारी अनुसार पहिलो चरणअन्तरगत बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम,पाँच थान पीपीए, एकसय पिस एन९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ ।

भद्रपुर नगरपालिका , कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०— ५० थान भिटिएम ,पाँच — पाँच थान पीपीए, एकसय पिस एन९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ। भोलि मेचीनगर र गौरादह नगरपालिकालाई सोही बराबरको सामान उपलब्ध गराइने छ । दोस्रो चरणमा आवश्यकता हेरेर १५ वटै गाउँपालिकालाई सो सामान उपलब्ध गराइने र थप आवश्यकता परे अभियान अरु सामान खरिद गरेर उपलब्ध गराउन तयार रहेको अभियानका सदस्य तथा कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए । सामान हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका अध्यक्ष रमेश भुजेल,उपाध्यक्ष मिरा भुर्तेल, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ , कचनकवल अध्यक्ष अन्जार आलम , बाह्रदशी अध्यक्ष खड्गप्रसाद राजवंशी , झापा अध्यक्ष जयनारायण साह र गौरीगञ्ज अध्यक्ष बाबुराजा श्रेष्ठले अभियानले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कोरोनासँग जुध्न सहयोग गरेको बताए । उनीहरूले झापामा अभियानले गरेको सहयोग अनुकरणीय र सापेक्ष भएको बताए ।

यसैबीच अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अभियानले खरिद गरेको थप पाँच सय थान भिटिएम काठमाडौँ आइपुगेको जानकारी दिए । अभियानले स्वास्थ्य सामग्रीसहित पाँच सय थान भिटिएम ल्याएर वितरण गरेको हो । काठमाडौँ आएको भिटिएम पनि झापा आइपुग्नासाथ वितरण गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्