झापा, जेठ २७ । प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। संविधान संशोधन प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो। ‘हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु’ , निर्णायार्थ प्रस्तुत गरेपछि सभामुख सापकोटाले संविधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका हुन्।भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले संविधान संशोधन गर्न लागेको हो ।जेठ १७ गते बसेको विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक प्रतिनिधिसभामा पेस भएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङफेले जेठ १८ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन्। त्यसलाई १८ गते नै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको थियो। संविधान संशोधनका पक्षमा कांग्रेससमेत उभिएकाले दुईतिहाइभन्दा बढी मत देखिएको हो । संविधानको धारा २७४ (१) मा नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने व्यवस्था छ। सोही धाराको उपधारा (३) मा विधेयक सदनमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।अब पारित विधेयकलाई राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले भने सर्वसाधारणलाई जानकारीका लागि सूचना प्रकाशन नगरी सोझै सैद्धान्तिक छलफल गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने छ। दुवै सदनबाट पारित भएको विधेयक लालमोहरका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ। प्रतितनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।  

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्