झापा, जेठ २८ । प्रदेश १ को एकमात्र प्रादेशिक अस्पताल भनेर प्रचार गरिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा वजेट विनियोजन गर्दा समेत बेवास्ता गरेको पाइएको छ ।

पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेटमार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम नल्याएको पाइएको हो । प्रदेश १ सरकारको नीति तथा कार्यक्रमले प्रादेशिक अस्पतालको उन्नति हुने कार्यक्रम नराखेपछि यस क्षेत्रका प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।
झापा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य बसन्तकुमार बानियाँले अञ्चल अस्पतालको उन्नतिका लागि आवश्यक वजेट विनियोजन नगरी प्रदेश सरकारले घटुवा गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सांसद बानियाँले मेची अञ्चलकै ठूलो अस्पताल भएका कारण विरामीको चाप रहने हुँदा पूर्वाधार, प्रविधि लगायत आवश्यकीय विकासका लागि वजेट नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेकपाबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका बानियाँको क्षेत्रमा पर्ने किचकबध, कचनकवलजस्ता धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत प्रदेश सरकारले चासो दिएर वजेट विनियोजन गरेको छैन ।
समानुपातिक सांसद ओमप्रकाश सरावगीले समेत दक्षिणी झापाको उन्नति हुने काममा प्रदेश सरकारले चासो नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । सांसद सरावगीले दक्षिणी झापाको उन्नतिको आधारका रूपमा रहेको अञ्चल अस्पतालको व्यवस्थापन पक्ष कमजोर रहेकै कारण भौतिक पूर्वाधार समेत लथालिङ रहेकोले सुधारका लागि वजेट आवश्यक पर्ने बताए । विपन्नहरूको बसोबास रहेको झापा क्षेत्र नम्वर ३ विकास निर्माणका दृष्टिले पछाडि परेको क्षेत्र हो । यो क्षेत्र राज्यको उपेक्षामा पर्ने गरेकै कारण भौतिक पूर्वाधारमा पछाडि परेको छ ।
यसैबीच संघीय सरकार मातहतमा रहेको मेची अञ्चल अस्पतालको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारमा सरेपछि अस्पतालको स्तरोन्नतिका कार्यहरू बन्द भएको अवस्था छ ।
संघीय सरकारको व्यवस्थापनबाट प्रदेश सरकारमा हस्तान्तरण भएको अस्पताल सञ्चालनको जिम्मेवारी पाएको विकास समितिले चासोका साथ अस्पतालभित्र आवश्यकीय उपकरण तथा प्रविधिको प्रबन्ध गर्न नसक्दा उपचार सेवा लिने सेवाग्राहीको आकर्षण घट्दै गएको छ ।
अस्पतालका अधिकांस विशेषज्ञ डाक्टर तथा प्राविधिक कर्मचारी निजी क्लिनिक केन्द्रीत भएको दुखेसो सेवाग्राहीले गर्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्