कचनकवल, जेठ २८ ।
कोरोना संक्रमणको प्रमुख केन्द्रका रूपमा देखिएको कचनकवल गाउँपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीको कामको प्रोत्साहन गर्नुपर्नेमा स्थानीय सरकारले दिने भनिएको भत्ता समेत कटौती गरेपछि आन्दोलन सुरू भएको छ ।

प्रदेश नम्बर १ को कोरोना संक्रमणको प्रमुख केन्द्र बनेको झापाको कचनकवल गाउँपालिकाका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर गरिरहेको काम वापतको भत्ताको माग गर्दै संघर्षमा उत्रिएका हुन् ।
कचनकवल प्रदेश १ कै सबैभन्दा बढी संक्रमित भएको पालिका हो । झापाका कोरोना संक्रमित १ सय ४८ मध्ये कचनकवल गाउँपालिकामा मात्र १ सय १४ जना संक्रमित छन् ।
संक्रमितको संख्या बढ्दै गएको बेला स्वास्थ्यकर्मीको कामप्रति दिनप्रतिदिन जोखिम बढेको भन्दै गाउँपालिकाका स्वास्थ्यकर्मी र कर्मचारी असन्तुष्ट भएर आन्दोलनमा होमिएका हुन् । उनीहरु संघर्ष समिति बनाएर आन्दालेनमा उत्रिएका छन् । कचनकवल गाउँपालिकाका स्वास्थ्यकर्मीको मंगलबार बनियानी स्वास्थ्य केन्द्रमा भएको भेलाले ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिले कर्मचारीले खाईपाई आएको तलवमा चैत महिनादेखि शतप्रतिशत भत्ताको व्यवस्था हुनु पर्ने माग अगाडि सारेको छ । मागपत्रमा पिसिआर नमूना संकलन र ल्याबका कर्मचारी, कन्ट्याक्ट ट्रेसिङमा जाने सिआइसिटी र आरआरटिएममा खटिएका कर्मचारीलाई खाजा, खाना र यातायात खर्च वापत दैनिक एक हजार भत्ता हुनु पर्ने उल्लेख छ ।
मागपत्रमा एम्बुलेन्स चालकको वीमा हुनु पर्ने, कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भएमा मृतकका छोरोछोरीलाई उच्च शिक्षा अध्ययनको प्रवन्ध हुनु पर्ने र कोरोना संक्रमितलाई आइसोलेसनसम्म लिएर जाने चालकको वीमा र दैनिक एक हजार भत्ता हुनु पर्ने माग गरेका छन् ।
संघर्ष समितिले मंगलबार गाउँपालिका, प्रदेश सरकार, प्रहरी कार्यालय, वडा कार्यालय लगायतका विभिन्न निकायलाई मागपत्रका सम्बन्धमा जानकारी गराएको छ । आन्दोलनअन्तर्गत आज सबै स्वास्थ्यकर्मी र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
भोलि बिहान १० देखि ११ बजेसम्म आकस्मिकबाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने र जेठ ३० गते पनि २ घण्टा सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी जेठ ३२ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।

संघर्ष समितिले पटक पटक गाउँपालिकालाई लिखित रूपमा मागपत्र दिएको र सुनवाई नभएपछि संघर्षमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक जागेश्वर यादवले बताए । गाउँपालिका अध्यक्ष अन्जार आलमले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई खाइपाई आएको तलब भत्ताको २५ प्रतिशत उपलब्ध गराएको बताए । उनले बजेट बनाउने बेलामा चैत देखिको शतप्रतिशत भत्ता खुवाउन सम्भव नहुने बताए ।
कचनकवल गाउँपालिकामा १५ बेडको बनियानी स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस चिकित्सक छन् । सात वडामा ७ वटा स्वास्थ्य चौकी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्