झापा , जेठ २८ । लकडाउनका बेला सिमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएपनि भारतबाट अबैधरुपमा नेपालतर्फ सुर्ति ल्याउने क्रम बढेको छ ।

फाइल तस्वीर

झापाको गौरीगञ्जमा एक बोरा अबैध सुर्ति पक्राउ परेको एक सातापछि आज जिल्लाका दुई सिमावर्ति स्थानबाट फेरि सुर्ति बरामद भएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज ५ बस्ने ५० वर्षिय मटरलाल गन्गाईले साईकलमा अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ८ केजी सुर्ति बरामद गरेको हो । अन्दाजी ४ हजार मूल्य बराबरको सो सुर्तिसहित गन्गाईलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय दमक पठाएकोमा १७ हजार ५५० रुपैयाँ धरौटी राखी उनी तारेखमा छुटेका छन् ।
त्यस्तै झापा गाउँपालिका ३ कामाटोली बजारमा रहेको ब्रमन किराना पसलको गोदाममा अबैधरुपमा भारतीय सुर्ति राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले गोदाम खोल्न लगाई चेकजाँच गर्दा गोदामभित्र रहेको ६ बोरा भारतीय सुर्ति बरामद गरेको छ । ५०हजार मूल्य बराबरको सुर्ती बरामद गरी ईप्रका कुमरखोदमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि गत साता गौरीगञ्ज १ कुञ्जीबारीस्थित वाल कल्याण मावि नजिकै भारतबाट तस्करले भित्र्याएको एक बोरा सुर्ति स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्