मोहन ढकाल,
विराटनगर, जेठ २९ ।लकडाउनको समयमा हुनेखानेहरु घरको मुलगेट लगाएर घरभित्रै क्वारेन्टाइनमा सुरक्षित छन् । तर उनीहरुकोमा घरधन्दा गर्ने गरिबहरु भने काम नपाउँदा भोकभौकै कष्टकर दिन गुजार्न बाध्य छन् ।

कोरोना लिएर आउँछन् भन्दै घरधनीहरुले घरधन्दा गर्नेहरुलाई घरभित्र आउन मनाही गरेका छन् । यसैले अढाई महिना बन्दाबन्दी कष्टकासाथ झेलेका घरेलु श्रमिकहरु लकडाउन केही खुकुलो भएपनि अझै वेरोजगार अवस्थामै छन् ।
अर्काको घरमा धन्दा गरेर जीविका चलाउँदै आएका विराटनगर महानगरपालिका— १९ शिसवनी टोलका एक सय सुकुम्वासी महिलाहरु आफू र परिवारको ज्यान बचाउन अहिले खेतीवालासँग सरसापट गरेर जेहेनतेहेन गुजारा चलाइरहेका छन् ।
यहाँका सबै महिला सम्पन्नको घरमा भाडा माझ्ने र लुगा धुने काम गर्छन् भने पुरुषहरु दैनिक ज्याला मजदुरीका काम गर्ने गरेका छन् । महिलाहरुको काम अढाई महिनादेखि पुरै बन्द भएपनि पुरुषहरु भने कहिलेकाहीँ कसैको बारी खन्न त घरमा टुटफुट काम गर्न जाने गरेका छन् । लकडाउनले गर्दा सामान्य अवस्थामा मोलमोलाइ गरेर उनीहरुले रोजगारी पाउदैनन् ।
शिसवनी टोलकी पुनम ऋषिदेवका अनुसार लकडाउन भएपछि घरधनीले नआउन भनेर काम बन्द गरिदिएका छन् । कहिलेकाहीँ काम गर्न आउँ त भनेर सोध्न जाँदा पनि घरभित्र आउन दिदैनन् । पुनम दुई घरमा भाडा माझेर मासिक ४ हजार कमाउँछिन् ।
श्रीमान पनि राजमिस्त्रीको काम गर्थे । तर आजकल दुबैको काम रोकिएकोले घर चलाउन गाह्रो परिरहेको बताउँछिन् ।

शिसवनी टोलकै फुलकुमारी ऋषिदेव ४ घरमा भाँडा माझ्ने र लुगा धुने काम गरेर मासिक ८ हजार सम्म कमाउँथिन् । तर कोरोनाको त्राससँगै लकडाउन भएयता काममा जान नपाएको उनको भनाइ छ । उनलाई ७ जनाको परिवार पाल्न धौधौ परेको छ ।
भन्छिन् – ‘एकातिर कोरोनाको त्रास छ अर्कोतिर भोकको पिर । पहिलादेखि गरिआएको काम गर्न जाउँ त घरभित्र पस्न नै पाईँदैन । अरु काम पनि पाईँदैन । गुजारा कसरी चलाउने ?’
शिसवनी टोलकै जङ्गली ऋषिदेवले सम्पन्नको घरमा भाडा माझ्न थालेको २० वर्षभन्दा बढी भयो । भाडा माझेर मासिक ६ हजार सम्म कमाउने उनी लकडाउन पुरै खुलोस् र मालिकहरुले काम गर्न बोलाउँ भन्ने आशामा छिन् ।
उनी कतै राहत पाइहालिन्छ की भनेर दिनहुँ वडा कार्यालयमा पुगेर निराश हुँदै फर्कने गरेकी छन् ।
सम्पन्नको घरमा काम गर्ने श्रमिकहरुको कुनै संघ संगठन पनि छैन । बषौदेखि उनीहरु न्यून ज्यालामा काम गर्दै आएका छन् ।
यसैले उनीहरुले सानो गल्ती भयो वा केही समस्या भए कामबाट बेदख्खल हुनुपर्ने अवस्था छ । कहाँ र कतिको संख्यामा कस्तो अवस्थामा काम गरिरहेका छन् भनेर कसैले अनुगमन गर्ने र तथ्याङक लिने काम नगरेकोले उनीहरुको वास्तविक अवस्था पनि थाहा हुन सकेको छैन ।
अखिल नेपाल ट्रेड युनियन महासंघ एक नम्बर प्रदेशका उपाध्यक्ष उपेन्द्र राय संकटको बेला घरेलु श्रमिकहरुलाई रोजगारदाता र सरकारले पुग्दो राहत दिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्