भद्रपुर, जेठ २९ । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशनविपरित ऋणी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ ।
सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकांस निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको ऋणीहरुले गुनासो गरेका हुन् ।
व्यावसायिक कर्जा लिएका सयौं व्यक्तिहरूको कारोवार बन्द भएपछि चैतयता बैंक तथा वित्तीय संस्थाहरूको किस्ता र व्याज तिर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरूले फोन तथा म्यासेज पठाएर ऋण तिर्न दवाव दिन थालेका हुन् ।सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित ऋण कारोवार गर्ने ऋणीहरूको ऋण र किस्ता तिर्न समय दिनु पर्ने, हर्जना शुल्क लिन नहुने निर्देशन जारी गरेको भए पनि नाफामुलक उद्देश्यबाट सञ्चालित निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारी निर्देशनको पालना गरिरहेका छैनन् ।
बन्दाबन्दीको अवधिमा पनि मासिक व्याज तथा किस्ता तिर्न ढिला हुने ऋणी सदस्यबाट हर्जना असुल्ने गरेको गुनासो आउन थालेको छ ।