झापा ,जेठ ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज झापाका १३ सहित ४४८ जना कोरोना संक्रमित थपिएका छन ्। यससँगै नेपालमा कुल संक्रमितको संख्या ५०६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । आज झापाको कचनकवल र बाह्रदशी गाउँपालिकामा १३ जना संक्रमित थपिएका हुन् । कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बस्नेहरुमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताए । उनीहरु सबै भारतबाट आएका हुन् । कचनकवलमा हालसम्म १२६ जनामा संक्रमण देखिएको छ । जुन १ नं प्रदेशमा सबैभन्दा धेरै हो । कचनकवलका हालसम्म ७८ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै पशुपति मावि क्वारेन्टाइनमा बसेका बाह्रदशीका थप दुईजनामा आज संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु वडा नं ३ र ५ का हुन् । उनीहरु भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । आज १३ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १६९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्