शिवसताक्षी, जेठ ३१ । शिवसताक्षी नगरपालिका ३ स्थित एक विद्यालयले सामाजिक दूरी कायम गरी लकडाउनमा पठनपाठन गराउन थालेको छ ।

नगरको वडा नं. ३ कमलधापमा रहेको शान्ति आधारभूत विद्यालयले लकडाउनमा पठनपाठन थालेको हो । विद्यालय सञ्चालन भइरहेको खबर प्राप्त भएपछि सञ्चारकर्मीका साथमा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका अध्यक्ष नारायण दाहाल र सचिव गोविन्द काफ्ले लगायतको टोली अनुगमनका लागि विद्यालय पुगेको थियो ।

विद्यालयमा न्यूनतम सामाजिक दुरी कायम गरी विद्यार्थीहरु कक्षा कोठामा रहेका थिए भने अभिभावकहरु विद्यालय परिसरमा बसेका थिए । विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले अभिभावक, विषय शिक्षक तथा सरोकारवालाहरुको समन्वयमा आलोपालो गर्दै सरकारले भनेको न्यूनतम सामाजिक दुरी कायम गरी एक विद्यार्थीलाई हप्तामा २ दिन पालो आउने गरी अध्ययन सुचारु गरेकोे जानकारी दिए । उनले भने, ‘ विद्यार्थी विद्यालयमा प्रवेश भएपछि साबुन पानीले हात धुने र सबै विद्यार्थीले सेनिटाइजर र माक्स प्रयोग गरी कक्षाकोठामा बस्ने गरेका छन् ।’ उनले थपे, ‘ घरमा बस्दा गाउँमा कोरोना भाइरस के हो, कसरी बच्ने सिकाउन गाह्रो थियो तर विद्यालयमा शिक्षकहरुले त्यसको बारेमा प्रत्येक दिन जानकारी गराउँदा विद्यार्थी मात्र होइन, उनका अभिभावक तथा समाजलाई फाईदा पुगेको छ ।’ शिवसताक्षी ३ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद सापकोटाले अभिभावकको चाहना अनुसार यो निर्णय गरिएको बताउँदैं लामो समयदेखि देश लकडाउन भएका कारण विद्यार्थीहरु गाउँघरमा खेल्न जाने, जानी नजानी कुलतमा फस्ने, गर्मीको समय भएकाले नहर, खोलाखोल्सामा पौडी खेल्न जाने भएकाले घरमा बस्दा झनै जोखिम हुने भन्दै अभिभावकहरुको अनुरोधमा अत्यन्तै सुरक्षित तवरले विद्यालय सञ्चालन गरेको जनाए ।

विद्यालयका शिक्षकहरु यस कार्यप्रति आफूहरु सन्तुष्ट रहेको बताउँछन् । अनुगमनको अवसरमा शिवसताक्षी ११ स्थित काफ्ले खाद्य भण्डारका सञ्चालक यामनाथ काफ्लेले नेपाल रेडक्रस शिवसताक्षी उपशाखालाई उपलब्ध गराएको १० बोतल सेनिटाइजर विद्यालयका प्रधानाध्यापक भट्टराईलाई हस्तान्तरण गरिएको छ । तीनतिरबाट नदीले घेरेको नगरकै अति दुर्गम क्षेत्रमा सञ्चालित उक्त विद्यालयमा करिब २ सय विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्