बिर्तामोड , ३२ जेठ । स्वतःस्फूर्त सडकमा निस्केका युवाले झरिबादल झेल्दै सामाजिक दुरी कायम गरेर हिजो बिर्तामोडको मुक्तिचोकमा मौन प्रदर्शन गरे ।

कोरोना महामारीमा सरकारले दश अर्ब खर्च भएको अविश्वसनीय हिसाब सार्वजनिक गरेपछि युवाले त्यसको सांकेतिक विरोध गरेका हुन् । दश अर्बको हिसाब दिनु पर्ने माग समिटिएका सांकेतिक प्लेकार्डसहित प्रदर्शन गरिएको बिर्तामोडका युवा प्रज्वल विमलीले बताए । प्रदर्शनका क्रममा युवाले देशभक्ति तथा जागरणसम्बन्धी गीत गाएका थिए ।
सडकमा निस्किएका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुनुपर्ने, किन छैन पिसिआर जनता जागे होसियार, युवालाई गरिखाने वातावरण बनाऊ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
धेरै प्लेकार्डमा जनसरोकारसँग जोडिएका नारा लेखिएको भएपनि केही भने अश्लिलता जनाउने खालका समेत देखिएका थिए । स्वतःस्फूर्त भएको मौन प्रर्दशनमा घुसपैठ भएको र अश्लिलता झल्कने नारासहितको प्लेकार्ड बोकेका व्यक्ति प्रदर्शनमा छिरेको अर्का युवा पोषराज कटुवालले बताए । उनले सरकार समर्थित पार्टीका मानिसले युवाको बेइज्जत गर्न घुसपैठ गराएको दाबी गरे । त्यसमा जिल्लाका सरकारी कार्यालयको नेतृत्वमा रहेका व्यक्तिको हात रहेको उनको भनाइ छ । नेकपा सम्बद्ध एक विद्यार्थी नेताले प्रधानमन्त्री केपी ओली पक्षधर नेतृत्वमा केही मानिसको उस्काहटमा घुसपैठ भएको जिकिर गरे । पद र शक्तिको दुरुपयोग गरेर घुसपैठ गराइएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्