काँकरभिट्टा, असार १ । झापाको मेचीनगरमा सोमबार जनचेतनामुलक र्यालीसहित बजार अनुगमन गरिएको छ ।

सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएलगत्तै यसको प्रभावकारी कार्यान्वयनका लागि नगरका उद्योगी व्यवसायीहरुलाई लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दैं र्यालीसहित बजार अनुगमन गरिएको हो ।
मेचीनगर नगरपालिका, मेची उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय धुलावारीको संयुक्त आयोजनामा मेचीनगरको मुख्यः व्यापारिक केन्द्र धुलावारीमा कार्यक्रम आयोजना गरिएको हो । सोमबार धुलावारीमा साप्ताहिक रुपमा हाट लाग्ने गर्दछ ।विभिन्न चेतनामुलक नारासहितको प्लेकार्ड र व्यानर बोकेर सहभागीहरुले खयरडाँगी, धुलावारीको पुरानो बजार, साप्ताहिक रुपमा बजार लाग्ने ठाउँलगायत धुलावारीको सिरानसम्मको परिक्रमा गरेका थिए ।
उद्योग व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम राख्न, व्यवसायीले अनिवार्य मास्कको प्रयोग गर्न साथै मास्क प्रयोग नगरेका ग्राहकलाई सामान विक्री वितरण नगर्न, व्यवसायस्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न वा सेनिटाइजरको प्रयोग गर्न, दैनिक उपभोग्य वस्तुको मुल्यसूची राख्न, कारोवार गर्दा वील विजकको प्रयोग गर्न, होटल तथा रेष्टुरेन्टबाट प्याकिङ् सामग्री विक्री गर्न, हाट बजार सैलन पार्लर, पार्टी प्यालेस आदि व्यवसाय सञ्चालन नगर्न तथा साइकल वा मोटर साइकलमा चालक मात्र एकजना सवार गर्न अनुगमन टोलीले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।ती मापदण्ड पुरा नगरेमा तथा सरकारद्वारा निषेध गरिएका सेवा तथा कार्यहरु गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ । धुलावारीमा साप्ताहिक रुपमा सोमबार लाग्ने सवैखाले हाटबजार बन्द गराइएको टोलीमा संलग्न इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्