विराटनगर, असार १ । प्रदेश १ सरकारले कोभिड – १९ को रोकथाम, नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारीकेन्द्रित बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गरेको बजेटमा कोरोनाविरुद्ध लड्ने र स्वास्थ्य पूर्वाधार विकासका कार्यक्रम धेरै समेटिएका छन् ।विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलोसिस सेवा र थप भेन्टिलेटर सहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनार्थ विस्तृत संभाब्यता अध्ययन र पूर्वाधार विकासका लागि आवश्यक रकम विनियोजन गरेको मन्त्री आङ्बोले बताए । यस्तै हाल ५० शैय्या सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटरसहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्टसहितको गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनको व्यवस्था गर्ने र २५ शैय्यासम्मका अस्पतालहरूलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्ने बजेटमा उल्लेख छ । ती अस्पतालहरूको सुदृढीकरण र सेवा विस्तारका लागि १ अर्व १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण, अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न ६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश नेचुरोप्याथी अस्पताल सञ्चालनका लागि आवश्यक रकम प्रबन्ध गरिएको र सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था गरिएको बजेटमा उल्लेख छ । अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टिहेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न १ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ्य आमा कार्यक्रमको लागि ५ करोड तथा आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । नसर्ने रोगको रोकथाम तथा रोगको निदान र जीवनशैली परिवर्तन सम्बन्धी समुदायमा आधारित कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा प्रारम्भ गर्न स्वस्थ जीवन प्रबद्र्धन कार्यक्रमको लागि पनि बजेटको व्यवस्था गरिएको छ ।उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि गर्न बजेट बिनियोजन गरेको र प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै मोरङ्गको मंगलबारेस्थित मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी रुपमा संचालन गर्न प्रदेशभर डिजिटल हेल्थ तथा टेलिमेडिसिन सेवाको पहुँच बिस्तार गर्ने र कोभिड १९ को रोकथाम नियन्त्रण, उपचार र राहतको लागि गठित कोरोना जनसुरक्षा कोषमा पर्याप्त बजेटको व्यवस्था गरेको मन्त्री आङ्बोले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्