शिवसताक्षी, असार ४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा अनुगमन गरेका छन् ।

उनले शिवसताक्षीको वडा नं. ११ मा रहेको झरना प्राविको क्वारेन्टाइनलाई अनुगमन गर्दै भने,‘ झापाका अधिकांश क्वारेन्टाइनहरु मापदण्डअनुसार चलेका छन् । सामाजिक सञ्जाललगायत पत्रपत्रिका, अनलाइन समाचारहरु पढिरहँदा विभिन्न खाले अप्रिय घटनाहरु घटेता पनि यस क्षेत्रमा त्यस्तो अप्रिय घटना नहुने कुरामा विश्वस्त छु ।’
शर्माले क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबलका साथ बस्न आग्रह गर्दै विश्व महामारीको बेला जस्तोसुकै परिस्थितिको सामना गर्नुपरेता पनि कोरोना संक्रमणको जोखिमबाट नआत्तिन सुझाएका छन् ।
यसैबीच, उनले शिवसताक्षी नगरपालिकाको कार्यालयमा गई मेची अभियानमार्फत प्राप्त ५० थान भिटिएम, ५ थान पिपिई, १ सय थान मास्क र १ कार्टुन सेनिटाइजर नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य रतन थिङलाबो, नेपाली कांग्रेस नगर संयोजक पर्शुराम ढुङ्गाना, उप—संयोजक विनोद ढकाल, सह—संयोजक पदम थापा, महाधिवेशन प्रतिनिधि शिवकुमार योङया, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष सन्तोष मेन्याङबो, नगरका विभिन्न तह र तप्कामा रहेका प्रतिनिधिहरु, नेपाली कांग्रेससम्वद्ध विभिन्न भातृ संघका प्रतिनिधिहरु उपस्थित रहेको अशोक बस्नेतले जानकारी दिए ।
हाल उक्त क्वारेन्टाइनमा १८ जना रहेको शिवसताक्षी नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए ।त्यसैगरी शर्माले हल्दिबारी गाउँपालिका र कमल गाउँपालिकामा रहेका क्वारेन्टाइनको समेत अनुगमन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्