तोपगाछी, असार ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विशुद्ध र बिनासर्त आर्थिक सहयोग जोसुकैसँग पनि लिन सकिने र लिइने बताएका छन् ।

बन्दाबन्दीकैबीच गृहजिल्ला झापा आएका शर्माले एमसीसीका बारेमा बोल्दै सैन्य सहयोग र हस्तक्षेप मुलुकका लागी अस्वीकार्य हुने स्पष्ट पारे । “ एमसीसी जस्तो राष्ट्रघाती सम्झौता कांग्रेसले गर्यो र त्यसलाई भित्र्याउन लागिपरेको भनेर बदनाम गर्न खोजिँदै छ” हिजो झापा क्षेत्र नम्बर ५ कार्यकर्तासँगको भेटघाटमा शर्माले भने,“ एमसीसी निवेदन हालेर मागेको सहयोग हो, कसैले कुनै स्वार्थका लागी दिएको होइन ।” उनले एमसीसीको प्रक्रिया झलनाथ खनालको पालामा सुरु भएको स्पष्ट पारे । “ यसमा कांग्रेसलाई दोष लगाउनु बेकार छ, राष्ट्रघाती छ भने सहयोग नलिए भैगयो नि किन कांग्रेसलाई दोषारोपण गर्नु ?” उनले भने, “ एमसीसीका बारेमा बुँदा बुँदा अध्ययन गरेर प्रतिक्रिया दिनु उत्तम हुन्छ, अध्ययन नगरी दोष लगाउनु कसैको बदनाम गर्नु मात्रै हो ।” शर्माले एमसीसी परियोजना सम्झौतामा कहिँ पनि अमेरिकी सेना नेपाल आउने नलेखिएको बताए । एमसीसी परियोजना सम्झौताको राम्ररी अध्ययन गर्न , अनि धारणा बनाउन र प्रतिक्रिया दिन कार्यकर्तालाई अनुरोध गरेका शर्माले एमसीसीको पक्षमा लागेर कांग्रेस सत्ता पक्षको सती जान लाग्यो भनेर गरिएका टिप्पणी अर्थहीन भएको बताए । आफूले परियोजना सम्झौताको धारा र दफादफाको अध्ययन गरेको बताए । उनले त्यहाँ उल्लेख भएको बौद्धिक सम्पत्तिको विषयलाई बुझ्ने कुरामा धेरैमा भ्रम र अलमल रहेको बताए ।
एमसीसीको विषयलाई लिएर प्रभावशाली नेता गगन थापा र आफूबीचको सम्बन्धमा खेल्ने काम भइरहेकोप्रति दुबैजना सचेत रहेको उनको तर्क छ । “ को एमसीसीको पक्षमा लाग्यो र को लागेन भन्नुमा कुनै तुक नै छैन” उनले भने,“ गगन र मेरो विषय र यसमा किन जोडिन्छ आश्चर्यजनक छ।” प्रवक्ता शर्माले निराधार कुराको पछि नलाग्न आश्वस्त पारे । एमसीसीको विषयमा धेरै कुरा केही दिनभित्रै थप स्पष्ट हुने बताएका शर्माले सबै कुरा बुझेर गरेको राम्रो हुनेमा जोड दिए । उनले एमसीसी पास गर्दा मुलुकलाई कुनै घाटा नभएको बताए । एमसीसीसँगै अमेरिकी सेना नेपाल आउँछ भन्ने कुरा मनोगत भएको शर्माको तर्क छ । उनले २०९० सम्म आर्थिक सहयोग लिएर देश आत्मनिर्भर र समृद्ध बनाउने पर्ने बताए । चीन र भारतले दिएको सहयोग लिन हुने तर अमेरिकाले दिएको सहयोग लिन नहुने भन्ने कुरा नभएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्