शिवसताक्षी, असार ५ । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिवसीय व्यक्तित्व तथा नेतृत्व विकास तालिम शुरु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविमा गठित सगरमाथा टिन्स क्लबको आयोजनामा शुरु भएको तालिमको नगर प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । अनलाइन मिटिङ एप्स जुमको प्रयोगमार्फत गरिएको तालिम उद्घाटनमा प्रमुख अतिथि शेर्माले ५ वर्ष अघिसम्म यस्तो प्रविधिको ज्ञान नभएको बताउँदैं हाल आएर यस प्रविधिमार्फत सम्पूर्ण जोडिएको बताए । उनले विद्यार्थीहरुको अग्रसरतामा भएको कार्यक्रमले सिङ्गो नगरपालिकालाई चिनाएको मात्र छैन, देश विदेशमा राम्रो छाप छोडेको भन्दै सफलताको शुभकामना दिए ।
त्यस्तै उद्घाटन कार्यक्रममा टिन्स क्लब झापाका फोकल पर्सन डम्बर अधिकारी, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराई, नगर खेलकुद समितिका अध्यक्ष फुर्वा लामा, उद्योग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष भोला मैनाली,सतासीधाम जेसिज वर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवाले शुभकामना दिएका थिए ।
कार्यक्रमको औचित्यमाथि टिन्स क्लबका शिक्षक गोविन्द काफ्लेले प्रकाश पारेका थिए । तालिमको प्रमुख प्रशिक्षकमा बद्री कार्की र सहायक प्रशिक्षकमा दिनेश श्रेष्ठ रहेका छन् । क्लबका अध्यक्ष प्रेक्ष्या पोखरेलले अध्यक्षता गरेको कार्यक्रमको स्वागत रक्षा नेपाल र सञ्चालन क्लबकी सचिव विद्या सिग्देलले गरेकी थिइन् ।
तालिममा शिवसताक्षी नगरभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्