दमक, असार ५ । दमकमा आज एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतबाट गत जेठ ३० गते नेपाल आएर ३१ गते दमक आईपुगेकी २९ बर्षिया महिलाको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिका क्वारेन्टाईन व्यवस्थापन समितिका स्वास्थ्य सचिव तथा दमक नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिए । कुवेतबाट आई सुरक्षित रुपमा क्वारेन्टाईनमा बसेकी दमक स्थायी घर भएकी महिलाको गत जेठ २ गते स्वाव संकलन गरिएको थियो । बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना संक्रमण पोजेटिभ देखिएको उनले बताए ।
संक्रमित महिलालाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाईएको छ । बिदेशबाट सुरक्षित रुपमा नेपाल आईपुगेर क्वारेन्टाईनमा बसेकाले समुदायमा भने आत्तिन नपर्ने दमक नगरपालिकाका स्वास्थ्य अधिकृत बद्रि बरालले बताए । क्वारेन्टाईनमा बसेकी महिलामा कोरोना संक्रमण देखिएकाले समुदायमा यसको असर नहुने उनले बताएका छन् । योसँगै झापामा कोरोना संक्रमित महिलाको संख्या ५ पुगेको छ भने कूल संक्रमितको संख्या १८३ पुगेको छ । यसैबीच आज जिल्लाका थप चारजना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म १३० जना निको भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ४ हजार ६९४ पिसिआर र २ हजार ६९८ वटा आरडिटि परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । उनले त्यसमध्ये ३०० जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्