झापा, असार ६ । भारतीय किसानहरुले नेपाली भूमिमा लगाएको बालीको आम्दानी उनीहरुलाई नै पुर्याइदिने गरिएको छ ।

नेपाल भारत सीमा

कोरोना भाइरसको महामारीले गर्दा नेपाल—भारत सीमा बन्द भएपछि उनीहरुको उब्जनी संकलन गरेर जनप्रतिनिधिहरुले सीमासम्म पुर्याइदिने गरेका हुन् । झापाको सिमावर्ती क्षेत्रमा भारतीयहरुले ठूलो क्षेत्रफलमा मकै बाली लगाएका छन् । बाली उठाउनका लागि भारतीयहरुले सीमा पार गरेर आउन खोज्दा विभिन्न अप्रिय घटना भएपछि जनप्रतिनिधिहरुले उनीहरुले कमाएको जग्गाको आम्दानी सीमासम्म लगेर बुझाउने गरेका हुन् । भारतीय किसानहरुले कमाएको जग्गाको उब्जनी भेला गरेर दशगजासम्म पुर्याइदिने गरेको गौरीगञ्ज १ का वडा सदस्य राजभक्त सुनुवारले बताए । उनले केही दिनअघि धेरै किसानको मकै बिक्री गरेर डेढ लाख रुपैयाँ दशगजासम्म पुर्याएको जानकारी दिए । ‘ हामी उनीहरुलाई बोलाउँछौ दशगजासम्म आउँछन् ’उनले भने,‘भुइँमा पैसा राखिदिन्छौ टिपेर लान्छन् ।’ कतिपयलाई नगद र कतिपयलाई बाली नै दशगजासम्म पुर्याइदिने गरेको अर्का वडा सदस्य टंकप्रसाद श्रेष्ठले बताए । आफ्नो बाली लिन सीमा पार गरेर उनीहरु आउने खतरा भएपछि त्यस्तो गर्नुपरेको उनले सुनाए । साविक महाभारा ५ मा मात्र भारतीय किसानहरुले ५० विगाहाभन्दा बढी जग्गामा मकै र धान लगाएका छन् । भारतसंग सीमा जोडिएका जिल्लाका सबै पालिकाहरुको सयौ विगाहा जग्गामा भारतीयहरुले वर्षौदेखि खेती गर्दै आएका छन् । सिमावर्ती क्षेत्रका प्रायः धेरै जग्गाधनीहरु भारतीयहरुलाई अधिया र ठेक्कामा जग्गा कमाउन दिएर वैदेहिक रोजगारीमा गएको गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन् । जग्गाधनीहरुसंग धेरै जग्गा भएका कारणले गर्दा पनि भारतीयहरुलाई कमाउन दिनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । भारतीयहरुले खेती गर्न आउन नपाएपछि सिमावर्ती क्षेत्रका जग्गाधनीहरुको जग्गा बाँझो रहने चिन्ता देखिएको वडाध्यक्ष राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्