राजेन्द्र गौतम , असार ६ । आपतमा सँगै रहने र अप्ठ्यारोमा साथ दिने लक्ष्यका साथ पाँच वर्षअघि सुरु भएको मेची अभियानले कोरोना संक्रमण न्यूनीकरणका लागि जनस्तरदेखि प्रदेश सरकारसम्मलाई सहयोग गर्न भ्याएको छ ।

भारतको पश्चिम बंगाल र विहार राज्यका विभिन्न स्थान, पूर्वीनाकामा अलपत्र परेकाको उद्घार, भारतीय भूमिमा खाली पेट सडकमा बस्न बाध्यलाई खाद्यान्न , काँकरभिट्टा होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खाद्यान्न उपलब्ध गराउने, खाना खुवाउने काम गरेर अभियान दुःखको भरपर्दो सहयोगी बनेको छ । अभियानले सयौंको उद्दार गरेको छ । काठमाडौँ लगायत मुलुकका विभिन्न ठाउँमा रहेका विद्यार्थीलाई निः शुल्क घर ल्याएको छ । दुवै देशका सुरक्षाकर्मी र प्रशासनसँग समन्वय गरेर भारतका विभिन्न ठाउँमा रहेका नेपालीलाई अभियानले घरसम्म पठाएको छ । कोरोना कहरसँग जुधेर काम गरिरहेको अभियानले खाद्यान्न सँगसँगै स्वास्थ्य सामग्री वितरणमा पनि फड्को मारेको छ । जनस्तरदेखि सरकारसम्म आफ्नो सहयोगी हात फैलाएको अभियानले प्रदेश —१ सरकारलाई एक सय थान व्यक्तिगत सुरक्षा कवच ( पीपीइ) हस्तान्तरण गरेको अभियान संयोजक विजय डालमियाले बताए । उनका अनुसार अभियानमार्फत बिराटनगर महानगरपालिकालाई ५०, जिल्ला प्रहरी कार्यालयलाई ३०, एपीएफलाई १०, इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई १०, मेचीनगर नगरपालिकालाई १० र ताप्लेजुङ प्रहरीलाई पाँच थान पीपीइ उपलब्ध गराइएको हो । पहिलो चरणमा अभियानले विभिन्न संघसंस्था र व्यक्तिलाई एक हजार ७३० मास्क समेत उपलब्ध गराएको थियो । दोस्रो र तेस्रो चरणमा झापा १२ पालिकालाई आठ सय थान भिटिएम , ६० थान पीपीइ १२०० थान मास्क र १२ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको संयोजक डालमियाले बताए । मेचीनगरलाई दुई सय थान भिटिएम र बुद्धशान्तिलाई एक सय थान भिटिएम,पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ । दोस्रो चरणमा ८ र तेस्रो चरणमा चार पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
दोस्रो चरणमा भद्रपुर र गौरादह नगरपालिका , कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०— ५० थान भिटिएम ,पाँच — पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क,१ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ । तेस्रो चरणमा अर्जुनधारा र शिवसताक्षी नगरपालिका तथा हल्दीबारी र कमल गाउँपालिकालाई ५०—५० थान भिटिएम , पाँच — पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क,१ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्मा पुगेका थिए । शर्माले अधिकांश पालिकामा बनाइएका क्वारेन्टाइनको अवलोकन गरी जानकारी लिएका छन् । बिर्तामोड, दमक र कनकाई नगरपालिकाको अवस्था हेरेर सहयोग गरिने संयोजक डालमियाले बताए । ठूलो परिमाणमा रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधी समेत उपलब्ध गराएको अभियानले जिल्लाका विभिन्न स्थानमा निसंक्रमण टनेल समेत बनाइदिएर धेरैको मन जितेको छ । हालसम्म कसैसँग पनि चन्दा संकलन नगरेको अभियानमा जुटेकाहरु बताउँछन् । स्वेच्छिक सहयोगमार्फत जम्मा भएको रकमबाट काम गर्न सम्भव भएको अभियानका संयोजक डालमियाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्