बिर्तामोड, असार ७ । बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ ।

आज वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० लाख रुपैयाँको योजना नगरपालिकामा पेस गर्ने निर्णय गरिएको वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
ग्रामीणमुखी बजेट विनियोजन गर्नेगरी नगरमा पठाइएको योजनामा वडाका सबै बाटोमा नाला अनिवार्य निर्माण गरिने भएको छ । बाटो बचाउन नाला र प्लम्ब अनिवार्य भएकाले प्राथमिकता दिइएको पाण्डेले बताए ।
वडाले भौतिक पूर्वाधारअन्तर्गत नाला निर्माण भइसकेका बाटोमा पेभर्स र कालोपत्रे गर्ने, विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने, सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी चौकी निर्माण गर्ने, ह्युम पाइप विस्थापन गरी बक्स स्ल्याब निर्माण गर्ने योजना बनाएको वडा सचिव टिका अधिकारीले जानकारी दिइन् ।
त्यस्तै, धिमालबस्तीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, पञ्चकन्या र देवी पञ्चकन्या टोललाई नमुना टोल बनाइने, अदुवा खोलाको तटबन्ध गर्न राज्यका विभिन्न निकायमा बजेटका लागि पहल गर्नेलगायत कृषि, युवा स्वरोजगार कार्यक्रमका लागि बिजेट विनियोजन गरिएको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्