झापा , असार ९ । झापामा होम क्वारेन्टाइनमा बस्ने र महिला संक्रमितको संख्या धमाधम बढ्न थालेको छ ।

झापामा कोरोना संक्रमित महिलाको संख्या दुई वर्षीया बालिकासहित आठ पुगेको छ ।
मेचीनगरका एक जनामा कोरोना पुष्टि भएको भोलिपल्ट होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । दमक नगरपालिका ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको त्रास स्थानीयमा थपिएको छ । दमकका ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका व्यक्तिको सम्पर्कमा रहेका २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ ।
संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिइन् । संक्रमित व्यक्ति भारतको युपीबाट जेठ ३० गते काँकरभिट्टा हुँदै घर आएका थिए ।
होम क्वारेन्टाइनमा व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गर्ने काम थालिएको दमक नगरपालिकाकी उपप्रमुख गीता भण्डारीले बताइन् । उनको परिवार र सम्पर्कमा आएका व्यक्तिको संख्या यकिन भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने छ ।
यस्तै झापामा महिला संक्रमितको संख्या पनि थपिदै गएको छ । पछिल्लोपटक भद्रपुर नगरपालिकाका दुईजना महिलामा कोरोना पुष्टि भएको छ । भद्रपुरका संक्रमित दुई महिला २७ र ३० वर्षका छन् । उनीहरू कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको भद्रपुरका उपप्रमुख चन्द्रा श्रेष्ठले जानकारी दिइन् ।
तीन दिनअघि अर्जुनधाराकी दुई वर्षीया बालिकासहित एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिला दुई वर्षीया बालिकाकी आमा हुन् । उनको उमेर २२ वर्षको छ । उनीहरू जेठ २७ गते भारतको विहारबाट काँकरभिट्टा नाका भएर आएका थिए ।
यसअघि हल्दिबारी गाउँपालिका १ र ३ का महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू दुबै जना ३० वर्षीया हुन् । कतारबाट आएका उनीहरू त्यहाँको स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए । त्यसैगरी झापाको शिवसताक्षी नगरपालिकामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियोे ।
शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ती महिला कहाँबाट आएकी हुन् अहिलेसम्म खुलाइएको छैन । त्यसअघि गौरादह नगरपालिका – ९ की २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । उनी पनि क्वारेन्टाइनमा नै बसेकी थिइन् । उनी भारतबाट आएका हुन् ।
झापा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९३ पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको संख्या १३२ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्