झापा , असार ९ । झापामा आज एकैदिन ८ महिलासहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुवेतबाट घर फर्केका अधिकांश महिलामा कोरोना पुष्टि भएको हो । मेचीनगरका तीन महिला, बुद्धशान्तिका तीन महिला र तीन पुरुष, हल्दिबारीका दुई महिला र बिर्तामोडका दुई पुरुषमा कोरोना पुष्टि भएको हो । तीमध्ये एकजना बाहेक सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका थिए । बिर्तामोड ७ का संक्रमित पुरुष भने भारतबाट आएर होम क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । बिर्तामोडमा आज दुईजनामा कोरोना देखिएको हो । बिर्तामोड ५ र ७ का पुरुषमा संक्रमण पुष्टि भएको हो । बिर्तामोड ५ का ३६ वर्षिय पुरुष ओमनबाट आएर मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । जिल्लामा कोरोना संक्रमित महिलाको संख्या १६ पुगेको छ । कूल संख्या भने २०६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्