झापा, असार ११ । हिजो भएको हल्दीबारी घटनालाई लिएर दुबै पक्ष प्रहरीसमक्ष पुगेका छन् ।

गाउँपालिका रबिन्द्र लिङ्देन घाउजाँच गरी पाऊँ भनेर जिल्ला प्रहरी कार्यालय झापामा हिजो नै गएका थिए । उनले घाउजाँच फारम लिएको र चिकित्सकको सम्पर्कमा गएको जनाइएको छ । चिकित्सकको रिपोर्ट आएपछि थप कुरा खुल्ने झापा प्रहरीले जनाएको छ । उपाध्यक्ष डम्बर गिरी पक्षले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा कार्बाहीको माग सहित निवेदन दिएको छ । सो समूह पनि मानहानीसम्बन्धी विषयलाई लिएर प्रहरीकोमा पुगेको हो । निवेदनमा धेरैको हस्ताक्षर रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले दुबै पक्षको निवेदन परेको बताए । उनले निवेदन उपर आवश्यक अध्ययन भर्खर सुरु भएकाले अहिले नै सबै कुरा भन्न नसकिने बताए । उनले अध्यक्ष लिङ्देन घाउजाँचका लागि आएको र अर्को पक्षले आफूहरूमाथि अभद्र व्यवहार भएको दाबीसहित निवेदन दिएको बताए । गाउँसभा चलिरहेको बेला भएको झडपलाई लिएर दुबै पक्षले प्रहरीलाई गुहारेका छन् । नीति कार्यक्रम तथा बजेटका विषयमा छलफल भइरहेका बेला हिजो हल्दीबारी गाउँपालिकामा झडप भएको थियो । राप्रपा र नेकपा दुबै पक्षले घटनामा एक अर्कालाई दोषी देखाउँदै आएका छन् । घटनामा सात जना व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्