भद्रपुर, असार ११ । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ७३ करोडभन्दा बढीको बजेट पारित गरेको छ ।

हिजो शुरु भएको छैठौं नगरसभामा नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवम् उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रस्तुत गरेको बजेट आज छलफलपछि पारित गरिएको हो ।विश्वव्यापीरुपमा फैलिएको प्राणघातक कोरोना भाइरस महामारीकाबीच नगरपालिकाले महामारीको संभावित जोखिम समेतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाइएको छ ।जिल्लाकै सदरमुकाम भएका कारण आन्तरिक तथा वाह्य पर्यटनलाई पनि ध्यानमा राख्दै नीति कार्यक्रम र बजेट निर्माण गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।सभामा उप प्रमुख श्रेष्ठले ७३ करोड ९२ लाख ८१ हजार ६१० रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । सो बजेटमा संघीय सरकारबाट सोझै भुक्तानी हुने सामाजिक सुरक्षा भत्ता र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम समावेश नरहेको उप प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद, पूर्वाधार विकास र संस्थागत विकास तथा सुशासन गरी पाँचवटा वर्गीकरण गरी छुट्याइएको बजेटमा आन्तरिक आम्दानीतर्फ ४ करोड ४६ लाख अनुमान गरिएको छ । त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने ४६ करोड २१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ८० लाख २५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ । यसैगरी, संघअन्तर्गत राजश्व बाँडफाँडबाट १० करोड ३९ लाख १० हजार ६१०, प्रदेश सरकारमार्फत राजश्व बाँडफाँडबाट ८३ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँडबाट २ करोड, अन्य निकाय, कार्यालय, संघसंस्थाबाट ४ करोड १८ लाख ३० हजार, स्थानीय वन उपभोक्ता समितिको राजश्व बाँडफाँडबाट ५ लाख र चालु आवमा खर्च हुन नसकेको ५ करोड रुपैयाँ आम्दानीको स्रोत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्