भद्रपुर, असार ११ । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो गाउँसभामा भएको आक्रमणको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/06/Haldibari-RM-1024x473.jpg)
आज गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले बजेट बाँडफाँड तथा चारकोसे जङगलको बाटाको नामाकरण गर्ने क्रममा गिरीले बहुमतको बल देखाएर विपक्षीको आवाज दवाउन खोज्दा कार्यालय तोडफोड भएको भन्दै त्यसको जिम्मेवारी गिरीले लिनुपर्ने बताएका हुन् ।
गिरीको नेतृत्वमा वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, ४ का वडा सदस्य महेशलाल मेचे, कार्यपालिका सदस्य सागर पार्तेलले गाउँसभा चलिरहेका बेला नीति तथा कार्यक्रम पास गर्नैपर्ने भन्दै आफू लगायत वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुँडाल र ५ का अध्यक्ष शेरबहादुर नेम्वाङ समेतलाई हातपात गरी अभद्र व्यवहार गरेको भन्दै नेकपाको बहुमतको आड लिएर कानून हातमा लिने काम भएको आरोप लगाए । उनले गाउँपालिकामा तोडफोड गर्ने काम उपाध्यक्षकै नेतृत्वमा भएकोले कानूनी कारवाहीका लागि आफू प्रहरी प्रशासनमा जाने समेत जानकारी दिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/06/rabindra-lingden-1024x473.jpg)
चलिरहेको गाउँसभामा केही सदस्यहरुले नीति तथा कार्यक्रम अध्ययन गर्न समय मागेकोले असार २९ गते बजेट प्रस्तुत गर्ने मौखिक सहमतिविपरित उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा बजेट पास गरेको निर्णय प्रमाणीकरण गरिएको भन्ने कार्य कानूनविपरित भएको
अध्यक्ष लिङ्देनले बताए । उनले गाउँसभा संचालन नियमावली २०७५ अनुसार अध्यक्ष हुँदाहुँदै आक्रमण गरेर सभास्थलबाट भगाई बजेट पास गराउने काम कानूनी राज्यमाथिको चुनौती भएको समेत प्रष्ट पारेका छन् ।
वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुँडालले नेकपाका सदस्यहरुले बहुमतको बल देखाएर विभेद गर्दै ४ र ५ नं. वडालाई कम बजेट दिने, जलथलको चारकोसे जङगलको मौलिक पहिचान गुम्ने गरी सडकको नामाकरण गर्ने जस्ता कार्यहरुले हल्दिवारी गाउँपालिकामा द्वन्द्व सिर्जना भएको भन्दै उपाध्यक्षबाट भएको कमजोरी नसच्चिएसम्म गाउँपालिकाले जनपक्षीय काम गर्न नसक्ने बताए । उनले नेकपाबाहेकले जितेका वडामा बजेट घटाउने कामले हल्दिबारीका स्थानीयमा विभेद सिर्जना गर्ने काम भएकोले त्यस्तो कार्य नरोकिए जनविद्रोह बढ्ने समेत चेतावनी दिए ।
यसैबीच हल्दिबारी गाउँपालिका तोडफोड सम्बन्धमा नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको बहुमतको आडले लोकतान्त्रिक विचारमाथि दमन गर्दै गाउँपालिकाका बासिन्दालाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।
कांगे्रस सभापति दिलिप मावो र राप्रपा अध्यक्ष एकराज राना मगरले संयुक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–“उपाध्यक्ष डम्बरबहादुर गिरीको नेतृत्वमा गाउँसभाभित्र गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, ४ नंं. वडाध्यक्ष होमप्रसाद चुँडाल र ५ नं. वडाध्यक्ष शेरबहादुर नेम्वाङलाई घेराबन्दीमा पारी आक्रमण गर्ने कार्य निन्दनीय छ ।” यस्तै विज्ञप्तिमा उपाध्यक्षको नेतृत्वमा नेकपाका जनप्रतिनिधिहरुले शान्तिपूर्ण रुपमा मागपत्र लिएर आएका गाउँबासीलाई गरेको आक्रमणबाट ३ जना घाइते भएको भन्दै त्यस किसिमको अराजक गतिविधि रोक्न माग गरिएको छ ।