भद्रपुर, असार १२ । अध्यक्षको उपस्थितिबिना हल्दिबारी गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम पारित गराएका उपाध्यक्ष डम्बरबहादुर गिरीले त्यसलाई उल्ट्याएर देखाउन चुनौती दिएका छन् ।

उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा बजेट पास गरेको निर्णय प्रमाणीकरण गरिएको भन्ने कार्य कानूनविपरित भएको अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो जिकिर गरेका थिए । त्यसको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले गाउँपालिकाको बहुमत सदस्यद्वारा पारित वजेट नीति तथा कार्यक्रमलाई उल्टाउन अध्यक्ष लिङ्देनलाई चुनौती दिएका हुन् । उनले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बहुमत सदस्यद्वारा आफूले वजेट नीति तथा कार्यक्रम पारित गराएको दावी गरे । प्रदेश सरकारको नगर तथा गाउँसभा संचालनसम्बन्धी कार्यबिधिलाई समेत टेकेर बजेट पारित गराउने काम भएको उनको भनाइ छ ।‘बजेट, नीति तथा कार्यक्रम पारित भइसक्यो’ उनले भने, ‘ न्यायालय वा कुनैपनि सम्बन्धित निकायमा गएर त्यसलाई उल्टाउन म उहाँलाई चुनौती दिन्छु ।’ गिरीले अध्यक्ष लिङ्देनले बुधबार सुनियोजित ढंगले सो घटना गराएको दावी गरे । घटना भएको दिन अध्यक्षले माइन्यूट नराख्नु, उपस्थितिमा आफूले सही नगर्नु र अरुलाई पनि गर्न नदिनु, बाहिर अराजक भीड बोलाएर हुलहुज्जत गराउनु नियोजित भएको उनले बताए । अध्यक्षले आरोप लगाएजस्तो उहाँमाथि कुनै पनि हातपात नभएको स्पष्ट पार्दै गिरीले जिम्मेवार पद र मर्यादामा रहेका ब्यक्तिले सरासर झुठ बोल्दा सरम लाग्नुपर्ने टिप्पणी गरे । लिङ्देनकै कारण हुलहुज्जत र तोडफोड भएकाले गाउँपालिकामा भएको सम्पूर्ण सार्वजनिक सम्पतिको क्षतिको जिम्मेवारी उनैले लिनुपर्ने गिरीले दावी गरे । उनले त्यस घटनामा संलग्नमाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्धा दायर गरिसकेको जानकारी दिए । बुधबार गाउँसभाका क्रममा भएको सो घटनापछि अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीबीचको आरोपप्रत्यारोप बढ्दै गएको छ ।

१ प्रतिक्रिया

  1. होईन यिनिहरु जनतालाई के सोच्छन ? जनताले मत दिएर जनताकै हितको काम गर्न जनप्रतिनिधी बनाइएका होईनन र? हाम्रै मुलुक मा यस्तो देखिन्छ राजनीति किन होला जनताले भरेको कर र बिदेशीएका मजदुरले पठाएको रेमिटेन्सले देश धनेको छ आफ्नो स्थनिय ठाउको बिकास गर्नलाई किन भेदभाव र प्रतिसोधको नजरले हेर्नेगर्छन यिनिहरु जनताको हित मा काम गर्नु नै उतम छ फेरि पनि जनताले त्यिही ब्याक्तिलाई चुन्ने दिन किन नाउला? झन बहुमत हुदा त प्रतिपक्षीलाई त राम्रो व्यबहार बाट आफ्नो हातमा लिनु त्यो दल वा बहुमतको खुबी देखिन्छ! तर यहाँ त तानसाही व्यबहार देखौन खोजेको जस्तो देखिन्छ? 4/5 नम्बर वर्डा का जनता जनता होइनन ? के त्यहाँका स्थानियहरु चाहिँ बिकास चादैनन ? बजेटको बिनियोजन हेर्दा त्यहा भेदभाव देखिन्छ भलाई अरु वर्डामा बजेट धेरै किन के का लागि यो जनतालाई स्पष्ट पार्नुस ?

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्