झापा, असार १२ । झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण भएको छ ।

गएराति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १०—१५ जनाको समूहले डा. झामाथि आक्रमण गरेको हस्पिटलका अध्यक्ष हरिसचन्द्र बाँस्तोलाले बताए । बिर्तामोड नगरपालिका —६ बुट्टाबारीका आठ वर्षीय बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो । बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य रहेको हस्पिटलले जनाएको छ । त्यसको दुई घन्टा पनि नबित्दै त्यहाँ पुगेको उक्त समूहले खाना खाएर कार्यकक्ष नजिक आराम गरिरहेका डाक्टरलाई कुटपिट गरेको अध्यक्ष बाँस्तोलाले बताए । सो समूहले पहिला बिरामी हेर्न दिनु पर्ने र उपचारमा लागेको रकम डिस्काउण्ट गर्नु पर्ने भन्दै काउन्टरमा रहेकी कर्मचारीसँग विवाद गरेको थियो । उनीहरूले बिरामी हेर्न एकैपटक जान खोजेपछि नजिकै रहेका डाक्टर झाले सम्झाउन खोज्दा ‘तँ को होस्’ भन्दै आक्रमण गरेको अध्यक्ष बाँस्तोलाले बताए । ‘बिर्तामोड हाम्रो कब्जामा हुन्छ, डिस्काउन्ट भएन भने राम्रो हुँदैन’ भनेपछि डाक्टरले सम्झाउन खोजेको हस्पिटलका अध्यक्ष बाँस्तोलाको भनाइ छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष बाँस्तोलाले भने,‘ डाक्टरले मास्क लगाएर एक— एक जना मात्रै माथि जानुस् भनेपछि आक्रमण भएको हो ।’ आक्रमणबाट डाक्टर झाको नाकमा चोट लागेको छ । उनलाई तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो । अहिले उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको अध्यक्ष बाँस्तोलाले जानकारी दिए । आक्रमणबाट घाइते भएका डाक्टर धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कार्यरत रहेको बुझिएको छ । आक्रमणकारी समूहको पहिचान भएको र उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले आक्रमणकारीको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्